बुधबार, १० भदौ २०८३

भोटेकोशी बाढी : पीडितको उद्धार र खोजमा तीव्रता दिन प्रधानमन्त्रीकाे निर्देशन


काठमाडौँ । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी आएलगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्रगतिमा अघि बढाएको छ ।

साथै जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र)का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ । साथै बाढीबाट थप प्रभावित हुनसक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा सार्न पनि निरन्तर सूचना प्रवाह गरिरहेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीको जोखिम रहेका पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न/नगराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले निर्देशन दिएलगत्तै सरोकार भएका निकायहरूले आफ्ना संयन्त्रहरू परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज र राहतलाई तीव्रता दिएका हुन् । जिल्लास्थित विपद् प्राधिकरणले सक्रियता बढाइसकेको छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासनलगायतले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका छन् । साथै नेपाली सेनाले पनि आफ्नो तर्फबाट उद्धार तथा खोजलाई अगाडि बढाएको छ ।

प्रधानमन्त्री शाहको निर्देशनमा उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ । साथै निजी कम्पनीका हेलिकप्टरलाई उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ ।


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ