- असार ०७, २०८०
चितवन, ३० असोज । भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका विपन्नलाई दसैँमा मासुचिउरा वितरण गरेका छन् । उनले भरतपुर–१२ का दुई सय ५५ परिवारलाई प्रति परिवार दुई किलो मासु र दुई किलो चिउरा वितरण गरे । सामाजिक सञ्जालमा आह्वान गरेर मासु किनेर खान नसक्ने विपन्नलाई आफूसँग सम्पर्क गरेका थिए । “वडाभरिका सबैलाई मैले आह्वान गरेर विपन्नलाई आफ्नै निजी खर्च गरेर मासु चिउरा बाँडे ।” उनले भने ।
वडाध्यक्ष पन्तले वडा कार्यालयमा दानपेटिका राखेर सक्नेलाई सहयोग गर्न आह्वान समेत गर्दै आएका छन । त्यहाँ सङ्कलित रकमले पनि उनले विपन्नका लागि सहयोग गर्छन् । गत तीजमा उनले विभिन्न आमा समूह, टोल सुधार समितिहरुमार्फत तीजको दर खुवाउने र समूहलाई पोसाकको साडी वितरण गरेका थिए । “तीजमा तीन लाख रुपैयाँ खर्च भएको थियो । तीज मनाउन खर्च माग्ने कोही खाली हात फर्केनन् । वडाभित्रका टोल र आमा समूहलाई ६ सयभन्दा बढी पोसाकका साडी वितरण गरिसकेको छु । ”
तिहारमा उनको घरमा भैलो खेल्ने पालो पाउन मुस्किल हुने जनाइएको छ । पचास समूहभन्दा बढी भैलो खेल्न आउने गरेको उनको भनाइ छ । “गत वर्षको तिहारमा रु पाँच लाख बढी दान गरेको थिएँ ।” उनले भने ।
गत भदौ १५ गते उहाँले आफ्नो जन्मदिनमा रु १८ लाख ६० हजार बराबरको दान गरेका थिए । आफ्नै वडाको एक मन्दिरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीसहितको उपस्थितिमा उनले विभिन्न सङ्घसंस्था र विद्यालयका विद्यार्थीलाई नगद एवं लत्ताकपडा वितरण गरे ।
जिल्लाका सङ्घसंस्थाहरु धेरैले एक पटक उनीसँग सहयोग पाइसकेका छन् । विभिन्न क्लबहरुले आयोजना गर्ने खेलकुदमा उनको सहयोग हुने गर्दछ । जनप्रतिनिधि भएपछि यकिन हिसाब नभए पनि रु एक करोडभन्दा बढी निजी रकम दान गरिसकेको उनले जानकारी दिए । उनले स्थानीय हिमालय स्कुलमा रु २२ लाख, रोटरी करुणालय देवघाटमा रु १५ लाख, गणेशधाम संरक्षणमा रु १५ लाख सहयोग गर्नुभएको छ । यसका अतिरिक्त क्रिकेट रङ्गशाला, मठमन्दिरहरुमा पनि सहयोग गर्दै आएका छन् ।
उनले वडाध्यक्ष वापतको रकम सबै दानमा खर्च गर्छन् । वर्षमा रु पाँच लाख हाराहारी आउने र त्यो सबै चेकमार्फत सोझै सहयोग गर्ने गरेको उनको भनाइ छ । वडा कार्यालयमा राखिएको दानपेटिकामा वार्षिक उठ्ने चार लाख हाराहारी विपन्न बिरामी, दाहासंस्कारका लागि आवश्यक दाउरा, किरिया खर्च, बाटो खर्चलगायत सहयोग गर्ने गरेको वडाध्यक्ष पन्तले जानकारी दिनुभयो ।
बाग्लुङ नगरपालिका–७ मा जन्मिएका पन्त विसं २०४८ बाट चितवनमा बसोबास गर्दै आएका छन् ।
टिप्पणीहरू: