बिहिबार, १५ माघ २०८२

सार्वजनिक बहस अस्वीकार गर्दै ओलीलाई बालेनकाे जवाफ- हत्याराको मतियारसँग एउटै मञ्चमा उभिन्नँ


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहसका लागि राखेको प्रस्ताव अस्वीकार गरेका छन्।

पूर्वप्रधानमन्त्री ओलीले सार्वजनिक बहसमा सहभागी हुन तयार रहेको बताएपछि रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बनाइएका बालेनले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका हुन्।

ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक बहसका लागि राखेकाे प्रस्तावमा प्रतिक्रिया दिँदै बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’

ओलीको प्रस्ताव 

पब्लिक डिबेटको लागि तयार छौँ 
नयाँ / पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ।

यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ।

फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र  खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्‍यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु।  त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।

बालेनकाे जवाफ यस्ताे छ

आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो!
तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो!
आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो??
त्योपछि अरू कुरा गरौँला!
७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ