- असार ०६, २०८०
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह आफैँले गरेको निर्णयबाट पछि हटेका छन् । केही समयअघि साहले चारजनाको वडाध्यक्षको जिम्मेवारी खोसेर नयाँलाई जिम्मेवारी दिएका थिए।
मेयर साहले हचुवाका भरमा निर्णय गरेर आफूहरूलाई हटाएको भन्दै वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरले विरोध गरेका थिए । उनीहरूलाई क्रमशः सम्पदा तथा पर्यटन, विधायन, सुशासन र सूचना तथा प्रविधि समितिबाट हटाएर अरुलाई जिम्मेवारी दिएका थिए ।
उनीहरूले कार्यपालिकाको बैठकै नराखी आफूखशी निर्णय नगर्न मेयर साहलाई चेतावनीसमेत दिएका थिए । नयाँ जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले कार्यपालिकाले जिम्मेवारी अनुमोदन नगरेको भन्दै मेयर बालेनलाई पत्र पठाएर पद अस्वीकार गरेका थिए ।
पाँच महिनादेखि कार्यपालिका बैठक समेत राख्न नसकेका मेयर साहलाई जनप्रतिनिधि र नगरसभा सदस्यहरूले निरन्तर दबाब दिँदै आएका छन् ।
उपप्रमुख सुनिता डंगोलको अगुवाइमा कार्यपालिका र नगरसभाको अनौपचारिक बैठक बसेर दबाब दिएपछि मेयर साह आफ्नो गरेका निर्णयबाट पछि हटेका हुन् ।
टिप्पणीहरू: