सोमबार, २६ जेठ २०८२

केही ‘हाइप्रोफाइल’विरुद्ध मुद्दा दर्ता गर्दै अख्तियार !


काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अहिले भ्रष्टाचारविरुद्ध मुद्दा दायरको बाढी आएको छ।

इतिहासमा पहिलो पटक पूर्वप्रधानमन्त्रीविरुद्ध अभियोग दर्ता गरेको अख्तियारले पछिल्लो तीन दिनमा मात्रै एक सय जनाभन्दा बढीविरुद्ध मुद्दा दायर गरेको छ।

सोमबार मात्रै पनि अर्का हाइप्रोफाइल नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ। कर्जा प्रवाह गर्दा घुस एवं कमिसन लिने गरेको उजुरीमा छानबिन गरेसँगै विशेष अदालतमा मुद्दा दर्ता गरेको हाे। उनले आफ्ना चालक उमेश महर्जनमार्फत ऋणीबाट कर्जाबापतको कमिसन उठाउने गरेको अनुसन्धानका क्रममा भेटिएको थियो।

एकाएक अख्तियार यति सक्रिय हुनुको कारण भने अर्कै छ। प्रमुख आयुक्त प्रेम राईसहितका अख्तियारका पदाधिकारीको नियुक्तिसम्बन्धी रिट निवेदनहरुको फैसलाका लागि सर्वोच्च अदालतले निर्णय सुनाउने मिति तोकेसँगै आयोगले मुद्दा दर्तालाई जोड दिएको हाे।

२०७७ मंसिर र २०७८ जेठमा दुईपटक संवैधानिक परिषद्सम्बन्धी ऐनलाई अध्यादेशमार्फत संशोधन गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले संवैधानिक आयोगहरुमा संसदीय सुनुवाइबिनै ५२ जना पदाधिकारी नियुक्त गरेका थिए।

प्रमुख आयुक्त राईसहित आयुक्तहरु किशोरकुमार सिलवाल, जयबहादुर चन्द, हरि पौडेल र सुमित्रा श्रेष्ठ अमात्यको नियुक्ति उतिबेलै विवादको विषय बनेको थियो।

उक्त नियुक्तिविरुद्ध परेका १६ वटाका रिटको सुनुवाइ साढे चार वर्षपछि सकेर फैसला सुनाउने मिति निर्धारण भएसँगै आयोग अहिले मुद्दा दर्तामा केन्द्रित हुन थालेको छ।

संवैधानिक इजलासले नियुक्ति बदरै गर्छ भन्ने छैन। यदि गरिहाल्यो भने पनि चित्त बुझाउनुको विकल्प हुन्न। ‘संवैधानिक इजालसले नियुक्ति बदर गरिहाल्यो भने अख्तियारले काम गर्दै थियो भन्नका लागि पनि अहिले मुद्दा दर्ता प्रकृयालाई जोड दिएका छन्’, अख्तियार सम्वद्ध स्रोतले भन्यो।

आइतबार मात्रै आयोगले नेपाल टेलिकमको बिलिङ प्रणालीमा भ्रष्टाचार गरेको अभियोगमा प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरी ३३ करोड ४८ लाख रुपैयाँ बिगो माग गरेको छ।

नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय गगनगौंडा कास्कीका प्रादेशिक प्रमुख चित्तरञ्जन दाससमेत ५ जनाविरुद्ध पनि मुद्दा दायर भएको छ।

यसैगरी आयोगले आइतबार नै चितवनस्थित नेपाल नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेलसमेत ६ जनाविरुद्ध पनि नपाएको ओहदा पाएको भनी अधिकार दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ।

पतञ्जलीको जग्गासम्बन्धी विषयमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध १८ करोडभन्दा बढी बिगो दाबी गर्दै मुद्दा अघि बढाइएको छ।

आयोगले यसअघि नै पूर्वमन्त्री एवं सांसद मोहनबहादुर बस्नेतलाई टेरामक्स प्रकरणमा मुद्दा दायर गरिसकेकाे छ। तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको हो। आयोगले उनीहरुविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार बिगो माग गरेको छ।

विवादित पात्रको विवादित निर्णय

प्रमुख आयुक्त राई आफैँ आयल निगमकाे जग्गा प्रकरणमा जोडिएका व्यक्ति हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि उनको संलग्नताबारे धेरै चर्चा भएको थियो। टेरामक्स काण्डमै जोडिएका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटालाई चोख्याउन राई आफैं खटिएका छन् भने कांग्रेस–एमालेको सत्ता समीकरणमा भूमिका खेलेकै कारण टेरामक्समै जोडिएका पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अख्तियारले नदेखे जस्तै गरेको छ।

ललिता निवास काण्डमा जग्गा फिर्ता गरेर चोख्खिन खोजेका बहालवाला अर्थमन्त्री विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीका हकमा पनि अख्तियार मौन छ। अख्तियार स्रोत भन्छ, ‘यो हप्ता केही हाइप्रोफाइलविरुद्ध मुद्धा दर्ता हुँदैछ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ