- असार ०७, २०८०
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ ।
आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बोर्डमा छापा मारेको हो ।
अख्तियार स्रोतका अनुसार बुधबार छापा मारेर आईपीओ निष्कासन पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजपत्र नियन्त्रणमा लिइएको छ ।
निजी ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पदाधिकारीका अनुसार हरेक कम्पनीको आईपीओ निष्कासनमा सर्वसाधारणलाई सेयर जारी हुने रकमको ५ प्रतिशतका दरले कमिसन माग गर्ने गरिएको छ ।
४३ जलविद्युत् कम्पनीको आईपीओ स्वीकृति क्रममा रहेकामा त्यसमध्ये ४२ कम्पनीसँग बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पठाएका भनिएका व्यक्तिहरूले रकम माग गरेको विद्युत् कम्पनीहरूले पुष्टि गरेका छन् ।
धेरैजसो प्रवर्द्धकहरूसँग भेटेरै र कतिपयसँग फोन, एसएमएस र इमेल मार्फत पनि रकम माग गरेको जलविद्युत् प्रवर्द्धकहरू बताउँछन् ।
आईपीओ स्वीकृतिका लागि कमिसन मागिएको विषय मिडिया मार्फत सार्वजनिक भएपछि त्यसबारे संसद्मा पनि कुरा उठेको छ । त्यसपछि अख्तियारले बोर्डमा छापा मारेको अख्तियार स्रोतले बतायो ।
टिप्पणीहरू: