शनिबार, ३१ जेठ २०८२

आरजु राणा: लोकतन्त्रमा कांग्रेसको योगदानकाे कुरा गर्दै मिडियालाई धम्क्याउँदै


काठमाडौं। शुक्रबार बिहान नागरिक न्युज नेटवर्कमा समाचार प्रकाशित भयो ‘निर्देशक ज्ञवालीलाई परारष्ट्रमन्त्री राणाको धम्की’। पत्रकार दिलभूषण पाठकसम्बन्धी समाचारलाई लिएर परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल रिपलिब्लक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई धम्की दिएको समाचार थियो।

‘राणाले स्वकीय सचिव कमल रावलको ह्वाट्सएप नम्बरबाट ज्ञवालीलाई दिउँसो १ः५३ बजे फोन गर्दै नेपाल रिपब्लिक मिडिया र यसका सञ्चालकहरूलाई धराशयी गराइदिने चेतावनी दिएकी हुन्।’ नागरिक न्युज नेटवर्कले लेखेको छ।

पत्रकार दिलभुषण पाठकले देउवा दम्पतीका एक्ला सन्तान जयवीरलाई हिल्टन होटलको सेयर प्रकरणमा जोडेर बनाएको समाचारका सन्दर्भमा जयवीरले पत्रकार पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन्।

सोही सन्दर्भको समाचार नागरिक न्युजले फलोअप गर्दै आएको छ। नागरिकले समाचार फलोअप गरेकै कारण परराष्ट्रमन्त्री राणाले धम्की दिएकी हुन्।

पाठकको युट्युब च्यानल प्रेशकाउन्सिलमा सूचीकृत नभएकाले साइबर व्युरो मार्फत कार्वाहीका लािग अघि बढेको दावी गर्ने डा. राणाले निर्देशक ज्ञवालीलाई धम्की दिएकोमा सर्वत्र आलोचना भएपछि विज्ञप्ती निकाल्न वाध्य भएकी छिन्।

विज्ञप्तिमा राणाले नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढी संघर्ष नेपाली कांग्रेसले गरेको दावी गर्दै स्वतन्त्र मिडियाको बारेमा जानकार रहेको दावी गरेकी छन्।

‘नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढी संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई कसैले बिर्सन मिल्दैन। म सोही पार्टीको एक जिम्मेवार सदस्य भएकाले मलाई प्रेस स्वतन्त्रताका बारेमा  राम्ररी थाहा छ’, उनले भनेकी छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमाती रहेकी आरजु तिनै व्यक्ति हुन्, जो केपी शर्मा ओली नेतृत्वमा परराष्ट्रमन्त्री छिन्। तर, अहिलेसम्म उनको सम्पत्ति विवरण सार्वजनिक भएको छैन।

सुशासनलाई मुख्य एजेण्डा बनाएर कांग्रेस र एमालेले गठबन्धनमा सरकार बनाएको १० महिना पूरा हुन लाग्दा अहिलेसम्म सरकारले मन्त्रीको सम्पत्ति सार्वजनिक गर्ने हिम्मन गरेको छैन। सम्पत्ति विवरणबारे प्रश्न गर्नेहरुलाई प्रधानमन्त्री ओलीले सरकार विरोधी तत्वका रुपमा व्याख्य गर्ने गरेका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ