बिहिबार, २२ माघ २०८२

निर्वाचन लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने अवसरः उपराष्ट्रपति


फाइल तस्बिर

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न निर्वाचन लोकतान्त्रिक अभ्यास अझै सुदृढ गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन्।

काठमाडौँमा आज आदिवासी जनजाति आयोगको पाँचौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले निर्वाचन नागरिकको अधिकार अभिव्यक्त गर्ने माध्यम भएकाे बताए।

उनले निर्वाचनका माध्यामबाट सम्पूर्ण नेपालीहरुले आफ्नो मताधिकार प्रयोग गरी राज्यको नीतिगत दिशा तय गर्ने अवसर प्रदान गर्ने भएकाले सबै नागरिकले अवसर गुमाउन नहुनेमा जोड दिए।

उनले भने, ‘निर्वाचनका माध्यामबाट सम्पूर्ण नेपालीहरुले आफ्नो मताधिकार प्रयोग गरी राज्यको नीतिगत दिशा तय गर्ने अवसर प्रदान गर्छ, त्यसले लोकतन्त्रलाई जीवन्त राख्छ र समावेशितालाई बलियो बनाउँछ। निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलिया बनाई समावेशितालाई सुदृढ पार्छ।’

यसका लागि आदिवासी जनजाति समूहसहित सबै समुदायको सहभागिता अपरिहार्य रहेको पनि उनले बताए।

उपराष्ट्रपति यादवले आदिवासी जनजातिलाई स्रोत साधनमा पहुँच, नीति निर्माणमा सहभागिता र न्यायपूर्ण विकास प्रक्रियामा संलग्नतामा सुनिश्चित गर्न आयोगले पहल गर्न जरुरी रहेको बताए।

‘समावेशी लोकतन्त्रको सार्थकता तब मात्रै पुष्टि हुन्छ, जब प्रत्येक नागरिकले आफ्नो पहिचानलाई सम्मानित र अधिकारलाई सुनिश्चित भएको अनुभूति गर्दछ’, उपराष्ट्रपति यादवले थपे।

उनले समतामूलक समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने काम यस्ता संवैधानिक आयोगको भएको पनि बताए। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ