- असार ०६, २०८०
काठमाडौं, १२ कार्तिक । सांसदहरुले एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गादान भ्रष्टाचार हो कि होइन भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई समक्ष प्रश्न सोधेका छन् ।
सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले प्रधानमन्त्रीको पार्टीलाई विभिन्न फौजदारी मुद्दाका आरोपित व्यवसायीले दिएको जग्गादान भ्रष्टाचार हो कि होइन भनेर सोधेका हुन् ।
राज्य व्यवस्था समितिमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमाथि छलफल भइरहेको छ । सो छलफलमा अख्तियारका प्रमुख आयुक्त राई पनि सहभागी छन् ।
छलफलका क्रममा माओवादी सांसद दुर्गा राईले प्रधानमन्त्रीको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान लिनु भ्रष्टाचार भएको बताइन् ।
व्यवसायी गुरुङले दान गरेको कीर्तिपुर नगरपालिकास्थित जग्गामा पार्टी कार्यालय शिलान्याससमेत भइसकेको छ । प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यसँगै व्यवसायी गुरुङ दम्पतीले दशैंको अष्टमीको दिन भवन शिलान्यास गरेका थिए ।
सांसद राईले थप प्रश्न गरिन्, ‘सत्तारूढ दलले किन लिएको ? भ्रष्टाचार गर्दिन भन्नेले किन लिएको ?’ नेपाली काङ्ग्रेसकी सांसद सरिता प्रसाईंले पनि एमालेले पार्टी कार्यालयका लागि लिएको जगाबारे प्रश्न गरिन् । उक्त बैठकमा प्रधानमन्त्री पनि सहभागी हुने तालिका थियाे । अन्तिम समयमा प्रधानमन्त्रीकाे सचिवालयले प्रधानमन्त्री सहभागी नहुने जानकारी गराएकाे थियाे ।
टिप्पणीहरू: