- असार ०७, २०८०
काठमाडाैँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बिहीबार पार्टीको लुम्बिनी प्रदेशस्तरीय बिस्तारित बैठकमा भाग लिन जाने क्रममा रुपन्देही जिल्ला कारागारमा पुगेर लामिछानेलाई भेटेका हुन्।
लामिछानेलाई भेटेपछि पत्रकारहरूसंग कुरा गर्दै भट्टराईले उनलाई जमानतमा बाहिरै रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्ने बताए।
‘उहाँमाथि अन्तिम फैसला त भइसकेको छैन नि त। अहिले त न्यायिक हिरासतमा उहाँ हाे। कोही मान्छे भाग्छ, थप अपराध गर्छ भन्ने लाग्दाखेरि चाहिँ न्यायिक हिरासतमा राख्ने हो। तर एउटा जनताको प्रतिनिधि रहेकाे मान्छे भागेर पनि सुख पाउँदैन भन्ने कुरा अनुमान गरेर नै उनीहरूलाई जमानतमा बाहिरै रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो भनाइ हो’, उनले भने।
उनले रविलाई पत्रपत्रिका हेर्न धरी नदिएको भन्दै सूचनाबाट वञ्चित गर्न नहुने बताए।
डा. भट्टराईले, ‘उहाँलाई पत्रपत्रिका ल्याएर हेर्न धरी दिँदो पनि रहेनछ, त्यो त हामी पन्चायतकालमा बस्दा पनि साथीहरूले दिन्थे, पढ्ने गर्यौँ। मैले प्रहरीलाई सोधेँ- उहाँहरूले आदेश छैन भन्नुभयो, कमसेकम सूचनाबाट वञ्चित गर्न हुँदैनथ्यो।’
टिप्पणीहरू: