- असार ०७, २०८०
सुनसरी, १८ असोज । पूर्वमन्त्री तथा सुनसरी ३ का प्रतिनिधि सभा सदस्य भगबती चौधरीले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नका लागि छुट्टै मन्त्रालय आवश्यक हुने बताएका छन् ।
उराव आदिवासी जनजातिको प्राकृतिक पर्व ‘करम पूजा समारोह–२०८१’ को सन्दर्भमा गढी गाउँपालिका–६ भवानीपुर हाथमुडा, सुनसरीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
राज्यले आदिवासी जनजाति तथा पछाडि परेका वर्गको संरक्षण गर्नुपर्ने भन्दै उनले उनीहरूको संरक्षण र विकासका लागि राज्यले दायित्व निर्वाह गर्नुपर्ने धारणा राखिन् । आदिवासी जनजाति समुदायको अधिकार संविधानले पनि सुरक्षित गरेको भन्दै उनले संविधान, कानूनले दिएका अधिकार कार्यान्वयन गराउनका निम्ति लाग्नुपर्ने बताइन् ।
शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता सँगै सांस्कृतिक संरक्षणका लागि पनि राज्यले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो । पूर्वमन्त्री चौधरीले सबैको प्रतिनिधित्व हुनेगरी समुदायको विकासका लागि काम गर्न समेत उराव समुदायका अगुवालाई आग्रह गरिन् ।
नेपालमा सूचिकृत ५९ जातजाति रहेको भन्दै उनले राष्ट्रिय तथ्याङ्कले १२५ जातजाति देखाएको बताइन् । बहुसंस्कृति भएको मुलुक नेपालमा आदिवासी जनजातिको जनसंख्या ३८ प्रतिशत रहेको बताउँदै उनीहरूको संस्कार, संस्कृतिको संरक्षण गर्नुपर्ने उनको भनाई थियो । ‘भूमिपुत्रले प्रकृतिको पूजा गर्ने गरेका छन् । उनीहरूको सांस्कृतिक पर्वहरूको पनि संरक्षण गर्दै जानुपर्छ’, उनले भनिन्, ‘विश्वभरका आदिवासी जनजातिहरूले प्रकृतिको पूजा गर्ने गरेका छन् । अन्नबाली लगाउने बेलामा र भित्र्याउने बेलामा पनि प्रकृतिको पूजा गर्ने गर्छन् । त्यो विश्वभर एउटै रहेछ ।’
अस्ट्रेलिया, बोलिभिया लगायतका देशको भ्रमणमा जाँदा आदिवासी जनजातिको संस्कृतिको अध्ययन÷अवलोकन गर्न पाएको स्मरण गर्दै उनले आदिवासी जनजातिहरूको संस्कृति विश्वमै धनी रहेको उल्लेख गरिन् ।
टिप्पणीहरू: