सोमबार, ०८ पुस २०८१

आजदेखि धरहरा चढन पैसा तिर्नु पर्ने, फाेटाे खिच्दा पनि शुल्क लाग्ने


काठमाडौं, ९ मंसिर । धरहरा चढ्ने र पार्किङ गर्नेले आजबाट शुल्क तिर्नुपर्ने भएको छ ।

यसअघि संविधान दिवस (असोज ३ गतेदेखि) परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो तर गत बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय अनुसार अब धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तिर्नुपर्ने छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने  लाग्ने शुल्कमा ५० प्रतिशत छुट  पाउने छन् ।

सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको थियो । शहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको हो ।

त्यस्तै धरहरामा पार्किङ गर्दा आजबाट चार पांग्रे गाडीका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पांग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशमात्रै गर्नेहरुलाई भने ५० रुपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार शुल्क तोकिएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ