बुधबार, ०५ कात्तिक २०८२

झापामा फरार ९१ जना थुनुवा अझै सम्पर्कविहीन


सांकेतिक तस्बिर

झापा। विर्तामोड, दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएको ९१ जना थुनुवा सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएपछि तीन कार्यालयको हिरासतमा रहेका ९२ जना थुनुवा फरार भएका थिए।

फरार भएकामध्ये एक जना थुनुवा आफैँ सम्पर्कमा आएको र बाँकीको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए।

जेनजी आन्दोलनका क्रममा विर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयबाट ५१ जना, दमक इप्रकाका ३६ जना र झिलझिले इप्रकाका पाँच जना थुनुवा फरार भएको प्रहरीले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विर्तामोड र दमकको इलाका प्रहरी कार्यालयबाट लुटिएका हतियार भने अधिकांश फिर्ता भएका छन्।

प्रहरीका अनुसार लुटिएका ९९ थान हतियारमध्ये ७५ थान सकुशल फिर्ता भइसकेका छन् भने २४ थान हतियार अझै फिर्ता भएको छैन।

फिर्ता भएका हतियारमध्ये एसएलआर ११ थान, इन्सास राइफल २६ थान, थ्रीनटथ्री राइफल १८ थान, सट गन पाँच थान, ग्यास गन छ थान, रिभल्भर छ थान र एसएमजी तीन थान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। फरार थुनुवा र लुटिएका हतियारको खोजतलास तीव्र रूपमा भइरहेको सूचना अधिकारी खड्काले बताए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ