- असार ०६, २०८०
काठमाडौँ । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र अधिकृत वितरक अग्नि ग्रुप अन्तर्गत सञ्चालित अग्नि फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सव मनाएको छ । बुढानीलकण्ठ, काठमाडौंमा आयोजित विशेष समारोहमा आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत समुदाय सशक्तिकरणतर्फ सार्थक योगदान पु-याउने उद्देश्यसहित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ लाई महिन्द्रा एसयूभी४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अग्नि फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले भनिन् “३५ वर्षको यात्रामा हामी हाम्रो ग्रुप, साझेदारहरू र समुदायसँगै अघि बढ्दै आएका छौँ । आज हामी यस इन्स्टिच्युटलाई बालबालिका र परिवारसम्म अझ धेरै सेवा र अवसर पु-याउन सहयोग गर्ने एउटा सानो तर अर्थपूर्ण कदम चालिरहेका छौँ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ केवल स्वास्थ्य सेवा प्रदान गर्ने संस्था मात्र होइन, यो आशा जोगाइने ठाउँ हो, परिवारले बल पाउने ठाउँ हो, र भविष्यलाई सम्भारिने ठाउँ हो । यस्तो महत्वपूर्ण कार्यमा सहयोग गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।”
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ का अध्यक्ष प्रा.डा. भगवान कोइरालाले यस इन्स्टिच्युटले विद्यालय स्वास्थ्य कार्यक्रम, जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरण तथा बालरोग पहिचानसहितका विभिन्न सामुदायिक स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । 'यी सबै कार्यक्रमहरूमा अब यी सवारी साधन प्रयोग गरिनेछन् ।' उनले भने ।
अग्नि फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र विपद्–व्यवस्थापनजस्ता क्षेत्रमा निरन्तर सक्रिय छ र सरकारी निकायहरूसँग सहकार्य गर्दै आएको छ । यसअघि फाउण्डेशनले त्रिवि शिक्षण अस्पतालका पिआईसियु र एनआईसियु को मर्मत–सम्भार तथा स्तरोन्नति गरिसकेको छ । साथै, भर्ना भएका बालबालिकाका अभिभावकका लागि “अग्नि विङ” नामक सुविधासम्पन्न प्रतीक्षालय पनि स्थापना गरेको छ ।
टिप्पणीहरू: