- असार ०७, २०८०
काठमाडौं । नेपालमा यस वर्ष ३१औं विश्व आदिवासी दिवस भव्य र समावेशी ढंगले मनाइने भएको छ । पहिलो पटक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (नेफ्डिन), फूड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) र युनेस्को नेपालको संयुक्त सहकार्यमा दिवस बृहत रूपमा मनाउने तयारी गरिएको हो । ३१औं विश्व आदिवासी दिवस २०८२ सालको श्रावण २२ गते (सन् २०२५ अगस्ट ७) का दिन काठमाडौंको ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा आयोजना गरिनेछ ।
यसै सन्दर्भमा सोमबार ललितपुरस्थित एफएओको सभाहलमा सम्पन्न विशेष बैठकले कार्यक्रम व्यवस्थापनलाई व्यवस्थित गर्न आवश्यक तयारीलाई तीव्र बनाएको छ । बैठकले कार्यक्रमको सुचारु सञ्चालनका लागि कार्यक्रम व्यवस्थापन, मञ्च तथा अतिथि व्यवस्थापन, सांस्कृतिक प्रस्तुति, प्रचार–प्रसार, झाँकी प्रदर्शन, स्वयंसेवक परिचालन, भेषभूषा तथा परिकार व्यवस्थापनजस्ता विविध पक्ष समेट्ने गरी उपसमितिहरू गठन गरेको छ ।
उक्त बैठकमा नेपालका विभिन्न जातजातिका संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) अन्तर्गतका छाता महासंघहरू, महिला महासंघ, युवा महासंघ, पत्रकार महासंघ (फोनिज), विद्यार्थी महासंघ, अपाङ्ग महासंघका साथै एफएओ, युनेस्को र नेफ्डिनका वरिष्ठ प्रतिनिधिहरू पनि बैठकमा सहभागी थिए ।
बैठकमा उपस्थित प्रमुख अतिथिहरूमध्ये नेफ्डिनका उपाध्यक्ष रेशम गुरुङ, सदस्य सचिव ज्ञानेन्द्र पुन, एफएओका प्रतिनिधि राज हुमागाई र युनेस्को नेपालकी प्रतिनिधि वर्षा लेखीले आफ्ना विचार तथा योजना प्रस्तुत गरेका थिए ।
आयोजक संस्थाहरूले करिब ६ सय जनाको सहभागिता रहने अपेक्षा गरेका छन् । सहभागीहरूमा देशभरका करिब ५ सय जना विभिन्न जातजाति र भाषाभाषी समुदायका प्रतिनिधिहरू रहनेछन् भने अन्य सय जना संघ–संस्थाका पदाधिकारी, विदेशी पाहुना र संयुक्त राष्ट्रसंघीय एजेन्सीका प्रतिनिधिहरू हुनेछन् ।
कार्यक्रमको मुख्य उद्देश्य आदिवासी जनजातिहरूको पहिचान, अधिकार, सांस्कृतिक विविधता र परम्पराको सम्मानसहित जलवायु परिवर्तन, पर्यटन प्रवद्र्धन, वातावरण अनुकूलता तथा आदिवासी परिकारहरूको प्रवद्र्धनात्मक प्रस्तुति गर्नु हो ।
समारोहमा प्रस्तुत गरिने मुख्य कार्यक्रमहरूमा विभिन्न बीस भन्दा बढी जनजातिहरूको झाँकी नाच तथा सांस्कृतिक प्रस्तुति समावेश गरिनेछ । साथै, नेवारी संस्कार, संस्कृति र परिकारसहितको “राष्ट्रिय आदिवासी जनजाति सम्मेलन समारोह“ विशेष आकर्षणको रूपमा प्रस्तुत गरिनेछ ।
त्यस्तै, थारु जातिको परम्परागत परिकारहरूको प्रदर्शनी तथा प्रवद्र्धन गरिनेछ । नेवारी भाषाको प्रवद्र्धन, विकास र डिजिटाइजेशनसम्बन्धी जानकारी समेत प्रस्तुत गरिनेछ । गुगल ट्रान्सलेटमा नेवारी भाषा हालै समावेश भइसकेको सन्दर्भमा भाषिक अधिकारप्रतिको यो एक सशक्त सन्देशको रूपमा लिइने छ ।
हिमाल, पहाड र तराई क्षेत्रलाई समेट्नेगरी आयोजकले विविध जातजातिको सांस्कृतिक सहभागिता सुनिश्चित गर्दै देशको सांस्कृतिक समावेशितालाई उजागर गर्ने लक्ष्य लिएका छन् ।
कार्यक्रमको सन्देश राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रसारण गरिनेछ । राष्ट्रिय सन्देशमा “समावेशीताको पूर्ण कार्यान्वयनमार्फत आदिवासी जनजातिको समृद्धि, समृद्ध नेपाल निर्माणको आधार हो” भन्ने विचारलाई मूल विषय बनाइएको छ । यसमार्फत आदिवासी जनजातिहरूको अधिकार सुनिश्चितता, आत्मसम्मान र समान अवसरप्राप्तिको विषयलाई प्राथमिकतामा राखिएको छ ।
अन्तर्राष्ट्रिय सन्देशको रूपमा “मातृभाषाको संरक्षण र प्रवद्र्धन, खाना, वातावरण र समृद्ध जीवनयापनका लागि आत्मनिर्णयको अधिकारको सुनिश्चितता” मा जोड दिइएको छ । विशेषतः जलवायु परिवर्तन र वातावरणीय संकटसँग जुध्न आदिवासी जनजातिहरूको परम्परागत ज्ञान, जीवनशैली र प्रकृतिप्रतिको समर्पण अपरिहार्य रहेको सन्देश दिइनेछ ।
कार्यक्रमको सन्दर्भमा प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले पहिलो पटक युनेस्को र एफएओसँग सहकार्य गर्दै प्रतिष्ठानले दिवस यसरी बृहत रूपमा मनाउन लागेको जानकारी गराउँदै यस दिवसले नेपालका आदिवासी जनजातिहरूको भाषा, भेषभूषा, परिकार र सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे । उनले दिवसलाई भव्य बनाउन सम्पूर्ण समुदाय, संघ–संस्थाहरू र नागरिकहरूलाई आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रहसमेत गरे ।
यस्तै, सदस्य सचिव ज्ञानेन्द्र पुनले बसन्तपुरमा आयोजना हुने कार्यक्रममा काठमाडौं क्षेत्रको सांस्कृतिक पहिचान झल्किने गरी नेवारी संस्कार र परिकारलाई विशेष प्राथमिकता दिइएको जानकारी दिए । साथै, गुगल ट्रान्सलेटमा नेवारी भाषा समावेश भएको सन्दर्भमा भाषाको प्रवद्र्धन र प्रविधिमा पहुँच विस्तारको सन्देश दिने उद्देश्यले भाषाको डिजिटाइजेशनसम्बन्धी जानकारी प्रस्तुत गरिने बताए । साथै, थारु परिकारसम्बन्धी स्टलमार्फत तराई क्षेत्रको सांस्कृतिक विविधता प्रस्तुत गरिने योजना पनि उनले सार्वजनिक गरे ।
यसरी, ३१औं विश्व आदिवासी दिवस नेपालमा यसपालि ऐतिहासिक रूपमा बृहत् र अन्तर्राष्ट्रिय स्वरूपमा मनाउन लागिएको छ । यो दिवस न केवल सांस्कृतिक उत्सवको रूपमा सीमित रहनेछ, तर आदिवासी जनजातिहरूको पहिचान, अधिकार र योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उजागर गर्ने महत्वपूर्ण अवसरका रूपमा समेत स्थापित हुने अपेक्षा गरिएको छ ।
टिप्पणीहरू: