- असार ०६, २०८०
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं– २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष खनाल युवा पुस्ताको प्रतिनिधि राजनीतिक नेतृत्वका रूपमा चर्चामा आएका छन् ।
२६ वर्षकै उमेरमा सङ्घीय संसद् पुग्न सफल भएका खनाललाई नयाँ पुस्ताको आकांक्षा र वैकल्पिक राजनीतिक सोच बोकेको अनुहारका रूपमा हेरिएको छ । मध्यविन्दु नगरपालिका–६, टाँडी निवासी खनालको जन्म २०५६ असार ११ गते भएको हो । विद्यालय तहसम्मको अध्ययन स्थानीयस्तरमै सम्पन्न गरी उच्च शिक्षाका लागि काठमाडौँ पुगेका खनालले नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक गरेका छन् ।
कानुन अध्यायनकै क्रममा उनले देशको राजनीतिक अवस्थाबारे नजिकबाट बुझ्ने अवसर पाएको बताए । पुराना राजनीतिक दलको अभ्यासप्रति असन्तुष्टि व्यक्त गर्दै वैकल्पिक राजनीतिक शक्ति आवश्यक ठानेपछि उनी तत्कालीन विवेकशील साझा पार्टीमा आबद्ध भए । विसं २०७६ मा जनकपुरमा सम्पन्न विवेकशील नेपाली दलको महाधिवेशनबाट खनाल २० वर्षकै उमेरमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए , जसले उनलाई राष्ट्रिय राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनाएको थियो ।
काठमाडौँ बसाइँका क्रममा उहाँले माइतीघर मण्डल केन्द्रित विभिन्न आन्दोलन, नागरिक अभियान तथा सरकारको खबरदारी कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए । पछिल्लो समय ‘जेनजी’ आन्दोलन र युवा केन्द्रित नागरिक अभियन्ताको रूपमा पनि उनको संलग्नता देखिएको थियो ।
राजनीतिक सक्रियताका साथै खनालले संसदीय अभ्यासको अनुभव पनि बटुलेका छन् । उनले रास्वपाका सांसद असिम शाहको स्वकीय सचिवका रूपमा कार्यरत रहँदै संसद् र नीतिनिर्माण प्रक्रियाबारे व्यावहारिक अनुभव हासिल गरेका थिए । यसपटकको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेपछि उनको चर्चा झन् बढेको थियो ।
कानुनको विद्यार्थी भएकाले जनताका जायज मागलाई संसद्माार्फत उठाउने र कानुन निर्माण प्रक्रियामा सक्रिय भूमिका खेल्ने लक्ष्यसहित राजनीतिमा आएको नव निर्वाचित खनालले बताए । युवा पुस्ताको आवाज, पारदर्शीता, जवाफदेहिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता रहेको छ । स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै नीतिगत रूपमा समाधान गर्नुपर्ने विषयमा अध्ययन अनुसन्धानसहित अघि बढ्ने योजना रहेको उनले बताए ।
गाउँबाट अध्ययन सुरु गरी राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गर्नुभएका खनाललाई नवलपरासी(बर्दघाट सुस्तापूर्व)–२ का मतदाताले युवा पुस्ताको भरोसा र परिवर्तनको अपेक्षासहित सङ्घीय संसद्मा पठाएका छन् । निर्वाचन परिणामअनुसार खनालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार तिलबहादुर महतलाई २५ हजार ५९२ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । महत उक्त क्षेत्रमा लगातार तेस्रो पटक उम्मेदवार रहेका थिए ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर घर्तीले १४ हजार ७१३ मत तथा नेपाल कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरेका थिए ।
टिप्पणीहरू: