मङ्गलबार, २४ असार २०८२

रसुवाका सांसद माेहन आचार्य भन्छन्- म बाढी प्रभावित क्षेत्रमा हिँडेर जाँदैछु


काठमाडौँ । रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रमा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीबाट जनधनको ठूलो क्षति भएको छ । बाढीमा परी हालसम्म १८ जना बेपत्ता भएका छन् । दर्जनौँ गाडी बगाएको र पुरिएका छन् । नेपाल–चीन सीमामा रहेको मितेरी पुलसमेत बाढीले बगाउँदा दुई देशबीचको सडक सम्पर्क टुटेको छ ।
 
बाढीले सडक बगाएपछि त्यस क्षेत्रमा पुग्न कठिन भइरहेको जनप्रतिधिले जनाएका छन् । सो बाढीबाट भएको क्षतिको पहिचान, राहत सामग्री वितरण र उद्धारलाई प्रभावकारी बनाउन जनप्रतिधिसहित स्थानीय प्रशासन खटिएका छन् । सो क्षेत्रको अहिलेको अवस्थाका बारेमा रसुवाका सङ्घीय सांसद मोहन आचार्य र गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङसँग गरिएको कुराकानीको सम्पादित अंशः
 
 ‘घटनाको विवरण लिने काम भइरहेको छ’
 मोहन आचार्य, सांसद, रसुवा
 घटनाका बारेमा विस्तृत विवरण आउनै बाँकी छ । बाढीबाट सडक क्षति भएकाले त्यस ठाउँमा पुग्न कठिन छ । बाढीमा परी हराइरहेका नागरिकका सम्बन्धमा पूर्ण विवरण लिने काम भइरहेको छ । उक्त बाढीले रसुवागढी क्षेत्रमा ठूलो क्षति गराएको छ । नेपाल–चीन सीमामा रहेको मितेरी पुल नै बगाएपछि बाढीको भयावह अवस्था चित्रण हुन्छ । सीमानाकामा रहेको भन्सार यार्डमा बाढी पसेको छ । भन्सार यार्डमा रहेका कतिपय कन्टेनर बाढीले बगाएको छ । रसुवाको सांसदको जिम्मेवारीमा रहेको हुँदा म अहिले प्रभावित क्षेत्रतर्फ जाँदैछु । स्याफ्रूबेँसीबाट रसुवागढी पुग्न अझै तीन/चार घण्टा लाग्छ । त्यसतर्फको बाटो अवरुद्ध छ । क्षति भएको स्थानमा पुग्ने प्रयास गरिरहेको छु ।
 
‘स्थानीयस्तरमा जे उपलब्ध छ, त्यसको परिचालन गरिएको छ’
कैसाङनुर्पु तामाङ, अध्यक्ष, गोसाइँकुण्ड गाउँपालिका

मलाई ल्हेन्दे खोलामा बाढी आएको जानकारी बिहान ३ः३० बजे प्राप्त भएको हो । त्यतिबेला खोलाले मितेरी पुल बगाइसकेको थियो । चीनको तिब्बत क्षेत्रबाट ल्हेन्दे खोलामा बाढी उर्लिएर आएपछि क्षति भएको हो । चिनियाँ क्षेत्रमा ठूलो पानी परेको अनुमान गर्न सकिन्छ । बाढीमा परी १८ जना बेपत्ता भएका छन् । त्यसमा तीन सुरक्षाकर्मी, छ चिनियाँ नागरिक र नौ नेपाली नागरिक छन् ।
 
क्षतिको विवरण अहिले यकिनसाथ भन्न सकिने अवस्था छैन । राति अबेरसम्म भन्सारमा आयातीत गाडी प्रवेश दिएको थियो । त्यहाँ कति गाडी थिए, ती गाडीमा कति मजदुर थिए भन्न सक्ने अवस्था छैन । केही विद्युतीय गाडी बगाएको भन्ने छ । दर्जनौँ गाडी बाढीले पुरिएको अवस्था छ । भन्सार क्षेत्रमा पुगेको गाडीका चालक तितर बितर भए पनि अहिले सम्पर्कमा आउँदैछन् । हराएका सवारीसाधनको खोजबिन भइरहेको छ । रसुवागढी क्षेत्रमा कति मानिस थिए भन्न सकिने अवस्था छैन । स्थानीय, कर्मचारी, सुरक्षाकर्मी, सो क्षेत्र घुम्न गएको पर्यटक, गाडीका चालक र सहचालक गरी चार हजारको हाराहारीमा हुनसक्ने अनुमान गर्न सकिन्छ । प्रभावित क्षेत्र गोसाइकुण्ड गाउँपालिका–२ स्थित टिमुरेमा पर्छ । यो सीमानाका नै हो । टिमुरेमा सुक्खा बन्दरगाहा निर्माण हुँदै गरेको छ ।
 
 जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली अहिले प्रभावित क्षेत्रतर्फ जाँदैछौँ । खोलामा आएको बाढीले कटान गर्न थालेपछि नेपाली भूभागमा पहिरो झरेको हो । गोसाइँकुण्ड गाउँपालिकाको स्वास्थ्य शाखाले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन बिहानदेखि क्रियाशील छ । रसुवागढीसम्म पुग्ने सडक विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध छ । हिलोले बाटो पुरिएको छ । स्थानीयस्तरमा जे उपलब्ध छ, त्यसको परिचालन गरिएको छ । बाढीमा बगेकाबाहेक अन्य सुरक्षित स्थानमा बसेका छन् । बिहानको तुलानामा अहिले बाढी घटेको छ । मितेरी पुल नै बगाएपछि चिनियाँ पक्षसँग सम्पर्क टुटेको छ । ओहोरदोहोरसमेत बन्द भएको छ । उक्त नाकालाई पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन चिनियाँ पक्षको सहयोग महत्वपूर्ण हुनेछ ।    
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ