बिहिबार, १९ असार २०८२

माधव नेपालविरुद्ध बोलेकाे विषयमा रामकुमारीले भनिन्- मलाई स्पष्टीकरण सोधिएको छैन


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको बताएकी छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले आफूले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरा निराधार रहेको बताएकी हुन्।

उनले आफूले बोलेको विषयप्रति व्यक्तिगत हिसाबले लडाइँ लड्ने र बैठकमा स्पष्टीकरण दिने बताइन्।

‘मैले एउटा कार्यकर्ता भेलामा बोलेँ। बोलेको विषयको क्रिया प्रतिक्रिया मात्रै होइन, पार्टीको ध्यानाकर्षण भएर निर्देशन जारी गर्‍यो सार्वजनिक हिसाबले। त्यसपछि मैले सार्वजनिक रूपमा कहीँ आफ्नो कमेन्ट, स्पष्टीकरण दिइनँ। तर यहाँ पार्टीका धेरै ठूला नेताहरू, शक्तिशाली पार्टीभित्रका नेताहरूले सोसल, मिडियामा, सोसल मिडियामा, भर्चुअल प्लाटफर्ममा गएर विविध खालका कुराहरू बोलिरहनुभएको छ। त्यो बोलेको विषयका प्रति चाहिँ म व्यक्तिगत हिसाबले लडाइँ त लड्छु नै। तर राजनीतिक हिसाबको विषयमा पनि म प्रतिवाद गर्छु। तर मैले भनेका कुराको स्पष्टीकरण बैठकमा दिन्छु म।’

उनले थप भनिन्, ‘म के प्रसंगमा कसरी बोलेँ, के विषय थियो त्यो, कुन कन्टेक्स्ट थियो भन्ने कुरा बैठकमा मेरा कुरा राख्छु। तर मलाई स्पष्टीकरण सोधेको भनेको कुरा निराधार, कपोलकल्पित, हावा कुरा हो। मलाई उहाँहरूले कुनै स्पष्टीकरण दिनुभएको पनि छैन। दिने निकाय को हो, त्यो पनि थाहा छैन। उहाँको कुन तहको बैठकको निर्णयले दिनुभएको हो, त्यो थाहा छैन। खाली दुई-तीन जना मान्छेहरूले टिभीमा गएर स्पष्टीकरण सोधियो, लियो भन्ने कुरा गर्नुभएको छ। त्यो गलत हो भन्न चाहन्छु।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ