- असार ०७, २०८०
काठमाडौं। सर्वोच्च अदालतको आदेश पालना गर्नुपर्ने र कवाड व्यवसायीलाई शान्तिपुर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने लगायतका माग गर्दै कवाड व्यवसायीले आज (शुक्रबार) पाँचौँ दिन पनि आन्दोलन जारी छ।
काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध भृकुटीमण्डपबाट शुरु भएको कवाड व्यवसायीको प्रदर्शन कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालयसमेत घेराउ गरेको छ।
कवाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले कवाड व्यवसायीमाथि ज्यादती गरिरहेकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताए।
आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनले जनाएका छन्। आन्दोलनलाई थप व्यवस्थित र कडा बनाउँदै आगाडि बढ्ने गुप्ताले जनाएका छन्।
‘सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कवाड व्यवसायमा तोडफोड सहितको अत्याचार विरुद्ध कवाड व्यवसायीले शान्तिपूर्ण आन्दोलन गरिरहेको छ,’ गुप्ताले भने, ‘सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने र हामीले शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न पाउनुपर्ने हाम्रो माग हो।’
संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरूतत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारवाही गर्नुपर्ने उनीहरुको माग छ।
त्यसैगरी, कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ।
यसैबीच, आजै बसेको प्रतिनिधिसभाको बैठकमा आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कवाड व्यवसायीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउदै शान्ति, सुरक्षा सरकारले दिनुपर्ने माग गरेका छन्। सर्वोच्च अदालतले दिएको आदेश सबैले पालना गर्दै कानूनी शासनको राज्य स्थापना गर्नुपर्नेमा सरकारको यसमा ध्यान नगएकोमा उनले आक्रोश समेत पोखेका छन्।
‘कवाड व्यवसायी, उखु किसान झण्डै एक सातादेखि आन्दोलनमा छन्। तर, सरकारलाई दुख्दैन, सरकारलाई छोएको छैन। सरकार बेखबरजस्तो छ। म सोध्न चाहन्छु–के सरकारको संवेदना मरेकै हो ? के अदालतको आदेश पालना हुन्छ कि हुँदैन ?’ आजपा अध्यक्ष साहले सरकारलाई प्रश्न गरे।
टिप्पणीहरू: