- असार ०६, २०८०
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले खानेपानीको व्यवस्था गर्न नसक्ने खानेपानी मन्त्रालय खारेज गर्नुपर्ने सुझाव दिएका छन् । खानेपानीको व्यवस्था गर्न नसक्नेले कुर्सीमा टासिएर बस्न मिल्छ की मिल्दैन भन्दै उनले प्रश्न समेत उठाएका छन् ।
प्रतिनिधिसभाको आज (मंगलबार) बसेको बैठकमा आजपा अध्यक्ष साहले खानेपानी सरकारले उपलब्ध गराउँन नसकेको भन्दै सरकारको आलोचना पनि गरे । संविधानमा खानेपानी मौलिक हकको रुपमा रहको भए पनि सरकारले व्यवस्थापन गर्न नसक्दा मान्छेहरु कतै पानीले मरिरहेका छन् भने कतै पानी नपाएर तडपिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए ।
‘खानेपानीका लागि मान्छेहरु तडपिनुपर्ने, खानेपानीका लागि मान्छेले संघर्ष गर्नुपर्ने, खानेपानी कमी भएर पनि होईन् । एकातिर पानीका कारण मान्छे मरिरहेका छन भने अर्को तिर खानेपानीका लागि मान्छेहरु तडपिरहेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘यो व्यवस्थापनसंग जोडिएको बिषय हो सभामुखज्यू, व्यवस्थापन गर्न नसक्नेले यो कुर्सीमा बस्न मिल्छ की मिल्दैन ? पानी छ, पानीले गर्दा मान्छे मरिरहेका छन् अर्को तिर पानी नपाएर मान्छे तडपिएर मरिरहेका छन् । यो भनेको सरकारसंग जोडिन्छ, व्यवस्थापकीय पार्टसंग जोडिन्छ, सरकारको भुमिकासंग जोडिन्छ । यदी खानेपानी सरकारले दिनसक्दैन भने यो खानेपानी मन्त्रालय हटाए हुन्छ । हैनभने खानेपानीको व्यवस्था सरकारले तुरुन्त गर्नुपर्छ ।’
खानेपानीका लागि मान्छेले संघर्ष गर्नुपर्ने बताउदै उनले मौलिक हकको रुपमा रहेको खानेपानी उपलब्ध गराउँने दायित्वबाट सरकार भागिरहेको उनले बताए ।
टिप्पणीहरू: