आइतबार, २२ असार २०८२

कविता : स्वर्ग बनापो हो कि....


सोच्दै थिएँ एक रात सपनीमा, स्वर्ग के रैछ भनी
खोज्दै हिडेँ बिपनीमा यता कता, स्वर्गै पो मिल्छ भनी
हिराको टुक्रा देखेर लोचनले, व्याख्या कसरी गरूँ
नजिकमै देउता भेटेर पनि म, हेला कसरी गरूँ

तातो यो चिसो हावा र पानी मिली, बसेको कहाँ छ र
चुचुराले बादल चिरेको देखिने, अरु त कहाँ छ र
नेपाल भन्न कहीँबाट नसकी, स्वर्ग भनेको हो की
नेपालकै टुक्रा जोडेर ईशले, स्वर्ग बनापो हो कि

कहाँ के छैन भनोस् त कसले यो, भेटिन्छ जे जे पनि
ईश्वरले रचेको सुन्दर कृति, सुनको टुक्रै हो नि
लेखिन्छन् इतिहास कयौं वर्ष अघि, वीर र गाथा पनि
पूरा हुन्न यहाँ नेपाल नजोडे, गीता र वेदै पनि

सयौं फूलका माला मिली बसेका, अन्त कतै यो छ र
प्रकृति को आशिष  पाई बसेको, अन्त कतै यो छ र
नेपाल भन्न कहीँबाट नसकी, स्वर्ग भनेको हो की
नेपालकै टुक्रा जोडेर ईशले, स्वर्ग बनापो हो कि

छन्द: शार्दूलर्विक्रीडित
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ