- असार ०७, २०८०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज कर्णाली करिडोरमा निर्माण भएको चुवाखोला बेलिब्रिजको उद्घाटनका लागि हुम्ला जाने भएका छन् ।
हुम्ला जाने कुरा बताइरहने कुरा नभए पनि आज विशेष उत्सव लिएर हुम्ला जान लागेको प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा उलेलख गरेका छन् । ‘हुम्ला जाने कुरा बताइरहनु पर्ने त होइन, तर आज विशेष उत्साह लिएर खार्पुनाथ हुम्ला जाँदै छु,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘किनभने आजबाट सञ्चालनमा आउने कर्णाली करिडोर सडकको चुवाखोला बेलिब्रिजले हाम्रो दक्षिणी छिमेकी मित्रराष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोड्ने छ।’
प्रधानमन्त्रीका अनुसार यो करिडोर बाँके जिल्लाको सीमावर्ती नाका जमुनियाबाट सुरु भई हुम्लाको उत्तरी सीमाना हिल्सासम्म पुग्छ। करिब ४ सय १० किलोमिटर लम्बाइको यस राजमार्गले नेपालको सबैभन्दा दुर्गम र सडक सञ्जालमा नजोडिएको एकमात्र जिल्ला हुम्लालाई पनि अब राष्ट्रिय राजमार्गमार्फत देशको मुख्य सडक सञ्जालमा जोड्नेछ। यसले भारत र चीन दुबै मुलुकसँगको अन्तरदेशीय व्यापारका लागि वैकल्पिक एवं रणनीतिक महत्वको मार्ग प्रदान गर्ने प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भिडियो राख्दै लेखकाे छन्‘कर्णाली करिडोर सडक जोडिएपछि एक युवाले एआई प्रयोग गरी बनाएर पठाएको यो भिडियो र आजको हुम्ला यात्राले मलाई भावनात्मक र उत्साहित बनाएको छ।’
यो करिडोरका कारण हुम्लालगायत कर्णाली क्षेत्रका बासिन्दाले लामो समयदेखि भोग्दै आएको भौगोलिक विभेदन अन्त्य हुने अपेक्षा गरिएको छ। साथै, राष्ट्रिय एकीकरण, आपूर्ति सहजता र सुरक्षा रणनीतिका दृष्टिले पनि यो सडकलाई अत्यन्तै महत्वपूर्ण मानिन्छ।
यसअघि प्रधानमन्त्री ओलीले २०७५ सालमा पनि कर्णाली करिडोरको निरीक्षणका लागि हुम्ला भ्रमण गरेका थिए । उनकाे नेतृत्वको सरकारले कर्णाली, कोशी र मधेस करिडोरलाई प्राथमिकताका साथ निर्माणको गति दिएको दाबी गर्दै आएको छ।
चुवाखोला बेलिब्रिजको सञ्चालनसँगै अब भारतको जमुनिया नाकाबाट हिल्सा हुँदै चीनको ताक्लाकोटतर्फ सिधा सडक सम्पर्क सम्भव भएको छ। यसको दीर्घकालीन प्रभाव नेपाल–चीन व्यापार, पर्यटन तथा सीमानाकामा पर्ने दुर्गम बस्तीहरूको आर्थिक रूपान्तरणमा पर्ने विश्वास गरिएको छ।
टिप्पणीहरू: