शुक्रबार, २० भदौ २०८२

पूर्वी पाकिस्तानमा बाढीबाट पछिल्लाे ४८ घन्टामा थप तीन लाख मानिस विस्थापित


भारतले जारी गरेको पछिल्लो बाढी चेतावनीपछि पाकिस्तानको पञ्जाब प्रान्तका बाढी प्रभावित क्षेत्रहरूबाट विगत ४८ घण्टामा करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

यससँगै, गत महिनादेखि विस्थापितको कुल सङ्ख्या १३ लाख पुगेको छ ।

भारतको सीमामा नरोवाल र सियालकोट क्षेत्रमा आएको बाढीपछि पञ्जाबको मुजफ्फरगढ जिल्लाका धेरै गाउँ डुबानमा परेका छन् । प्रमुख सहरहरूलाई जोगाउन अधिकारीहरूले नदीको अतिरिक्त पानी खेततिर मोड्ने प्रयास गरिरहेका छन् । जसलाई पञ्जाबको इतिहासकै सबैभन्दा ठूलो उद्धार र राहत अभियान मानिएको छ ।

हजारौँ उद्धारकर्ताहरूले डुङ्गा प्रयोग गरेर मानिस र गाइवस्तुलाई सुरक्षित स्थानमा लैजाँदैछन् । सेनासमेत उद्धार कार्यमा खटाइएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक अरफान अली काठियाले जानकारी दिए।

उनका अनुसार भारतले बुधबार बिहान कूटनीतिक माध्यममार्फत पाकिस्तानलाई नयाँ बाढी चेतावनी पठाएको हो । भारी वर्षा र बाँधबाट पानी छोडिएपछि २४ घण्टाभित्र नै यो दोस्रो चेतावनी आएको उनले बताए ।

रावी, चेनाब र सतलज नदीहरूमा पानीको सतह उच्च बाढी स्तरमा पुगेको काठियाले जानकारी दिए। प्रभावित क्षेत्रमा छतमा फसेकाहरूलाई उद्धार गर्न ड्रोनको पनि प्रयोग भइरहेको छ । उनका अनुसार पञ्जाबका ३३ हजार गाउँका ३३ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । क्षतिको मूल्याङ्कन जारी रहेको र घर तथा बाली गुमाउनेलाई सरकारको तर्फबाट क्षतिपूर्ति दिने तयारी भइरहेको उनले जानकारी दिए ।

भारतको पञ्जाब राज्यमा पनि बाढी र पहिरोका कारण कम्तीमा २९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानतर्फ अस्थायी टेन्ट शिविरहरू स्थापना गर्दै प्रभावित जनतालाई खाना र आवश्यक सामग्री उपलब्ध गराइँदैछ । तर धेरै प्रभावितहरूले सरकारी सहयोग अभावमा गुनासो गरेका छन् । 

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार हाल करिब ४० हजार मानिस राहत शिविरमा बसिरहेका छन्, तर बाँकी कहाँ आश्रय लिइरहेका छन् भन्ने स्पष्ट छैन ।

मुजफ्फरगढ नजिकैको शेर शाह गाउँका ५४ वर्षीय किसान नूर मोहम्मदले कुनै सहयोग नपाएको बताए । “स्थिति बिग्रिँदै गएपछि मैले परिवारलाई आफन्तकहाँ पठाएँ”, उनले डुबानमा परेको गाउँ हेर्दै भने।

अर्का प्रभावित बासिन्दा मलिक रमजानले राहत शिविरमा जानेभन्दा पनि आफ्नो डुबानमा परेको घर नजिकै बस्न रोजेको बताए । “शिविरमा कुनै सुविधा छैन, खाना समयमा पाइँदैन र हामीलाई भिखारी सरह व्यवहार गरिन्छ”, उनले गुनासो गरे ।

यसैबीच, पञ्जाबकी मुख्यमन्त्री मरियम नवाज सरिफ बुधबार मुजफ्फरगढ पुगेका थिए । उनले राहत शिविरमा विस्थापितहरूसँग भेटवार्ता गरे। भारतले नयाँ बाढी चेतावनी जारी गरेको केही घण्टापछि उनको यो भ्रमण भएको हो ।

गत हप्ताको बाढीले कसुर, बहावलपुर र नरोवाल जिल्लामा ठूलो असर पुर्‍याएको थियो । यसक्रममा भारतीय सीमासँगै रहेको गुरु नानक मन्दिरसमेत डुबानमा परेको थियो । तर पानी घटेपछि सफा गरी पुनःस्थापना गरेपछि तीर्थयात्रीका लागि मन्दिर पुनः खोलिएको अधिकारीहरूले बताएका छन् ।

गत महिना भारतले सीमावर्ती क्षेत्रमा रहेका बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानले सामूहिक रूपमा निकासी अभियान सुरु गरेको थियो ।

पाकिस्तानमा यो पछिल्लो बाढी सन् २०२२ पछि सबैभन्दा विनाशकारी मानिएको छ । त्यतिबेला जलवायु परिवर्तनजन्य बाढीले करिब एक हजार सात सय जनाको ज्यान लिएको थियो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ