- असार ०६, २०८०
काठमाडाैँ। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टीभित्र गुटगत गतिविधि नियन्त्रण गर्ने विषयमा छलफल गरेको छ।
आज बिहान बसेको पदाधिकारी बैठकले पार्टीभित्र गुट तथा स्वार्थ समूह भत्काउने र गुटगत गतिविधि अनुगमन गर्ने स्थायी समिति बैठकको निर्णयबारे छलफल भएको प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए।
यसप्रकारका गतिविधिहरुलाई नियन्त्रण गर्न अनुगमन समिति बनाउने विषयमा छलफल भएको र निर्णय अर्को बैठकमा लिइने उनले बताए।
आजको बैठकमा विभिन्न समयमा एकता प्रक्रियामा आएकाहरुको जिम्मेवारी र कार्यविभाजनबारे समेत छलफल भएको छ।
यसैगरी यसअघि स्थायी समिति बैठकले भदौको तेश्रो सातादेखि मध्यपहाडी जनजागरण अभियान पुनः सञ्चालन गर्ने निर्णय गरेअनुरुप अभियानको स्वरुपका बारेमा समेत छलफल गरेको छ।
वर्षाको मौसम भएकोले बाह्यस्तरमा यसअघि जस्तो ठूला सभा तथा भेलाहरु नगरिने बरु पार्टी तथा जनस्तरमा आन्तरिक छलफल अन्तक्रिया गरिने नेता प्रवक्ता सापकोटाले बताए।
आजको बैठकमा विभिन्न वाम पार्टीसँग भइरहेको एकताको पहलबारे समेत छलफल भएको छ। नेकपा माओवादी केन्द्रले समाजवादी मोर्चामा रहेका एकीकृत समाजवादी, नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा, महेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीलगायतसँग एकता गर्ने निर्णय गरेअनुरुप आन्तरिक छलफल तीब्र छ।
यसैगरी आजको बैठकमा हिजोदेखि जारी रहेको महिला संगठनको राष्ट्रिय सम्मेलनबारे समेत छलफल भएको प्रवक्ता साप्कोटाले जानकारी दिए।
टिप्पणीहरू: