- असार ०७, २०८०
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष धरानका प्रमुख राजनीतिक दलहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन्।
बिहीबार नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले ‘प्रचण्डसमक्ष संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका हुन्।
उनीहरूले ज्ञापनपत्रमार्फत वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’ बाट अलग गरी पृथक चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न पहल गर्न माग गरेका छन्।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले उनीहरूले राखेका मागमा आफू पूर्ण रूपमा साथ रहने प्रतिवद्धता व्यक्त गरे।
‘तपाईंहरू समाधानको एक स्पष्ट विकल्प लिएर आउनुभएको छ, यो सकारात्मक कुरा हो। तपाईंहरूको यस मागमा म पूर्ण रूपमा साथ रहन्छ’, उनले भने।
अध्यक्ष प्रचण्डले प्रतिष्ठानलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण विषय भएकाे बताए।
‘मैले सरकारमा हुँदा धेरै विश्वविद्यालयहरू स्थापना गर्ने र अगाडि बढाउने काम गरेको छु। सुदूरपश्चिममा गेटालाई यस्तै यस्तै अरू पनि।धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरानो र नेपालको पूर्वी क्षेत्रको एक अत्यन्त महत्वपूर्ण संस्था हो। तर, यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण विषय हो।’
उनले पदाधिकारी नियुक्तिमा देखिएको अन्योल र कार्यक्षमता अभाव दुःखद् पक्ष रहेकाे भन्दै अब यस संस्थामा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्ने बताए।
टिप्पणीहरू: