- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडाैँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले भारत र चीनले नेपालको पूर्वसहमति र परामर्श बिना लिपुलेक नाकालाई व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने भनी गरिएको निर्णयप्रति आपत्ति जनाएकाे छ।
नयाँ शक्तिले शुक्रबार विज्ञप्ति जारी गर्दै भारत र चीनबीचकाे सहमति नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति गम्भीर उपेक्षा र अपमान भएकाे जनाएकाे हाे।
नेसपाले दुई देशकाे एकपक्षीय कदमलाई अस्वीकार गर्दै यसलाई छिमेकी मुलुकहरूको हेपाहा प्रवृत्तिको प्रतिबिम्बका रूपमा हेरेकाे छ।
‘नेपालको यस विषयमा स्पष्ट आपत्ति हुँदाहुँदै पनि भारत र चीनले पुनः त्यही गल्ती दोहोर्याउनु, नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति गम्भीर उपेक्षा र अपमान हो’, विज्ञप्तिमा भनिएकाे छ, ‘नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) यो एकपक्षीय कदमलाई अस्वीकार गर्दछ र यसलाई छिमेकी मुलुकहरूको हेपाहा प्रवृत्तिको प्रतिबिम्बका रूपमा हेर्दछ।’
नेपाल सरकारको कूटनीतिक सक्रियता र दृढतामा देखिएको कमजोरीले पनि सीमा र राष्ट्रिय हितको संवेदनशील प्रश्नलाई अझ जटिल बनाएको नेसपाकाे ठहर छ।
नयाँ शक्तिले सीमा विवाद तथा संवेदनशील कूटनीतिक विषयहरूको समाधानका लागि नेपालले अझ प्रभावकारी, सशक्त र परिणाममुखी कूटनीतिक पहल गर्नुपर्ने बताएकाे छ।
नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै भारत-चीन-नेपालबीच समानता, आपसी सम्मान र परस्पर विश्वासमा आधारित त्रिदेशीय सहकार्यको ढाँचा निर्माण गर्नु जरूरी रहेकाे नेसपाले उल्लेख गरेकाे छ।
यस्ताे छ विज्ञप्ति
भारत र चीनले २०८२ भाद्र ३ गते (August 21, 2025) नेपालको पूर्वसहमति र परामर्श बिना लिपुलेक नाकालाई दुई देशबीचको व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने भनी गरिएको निर्णयप्रति नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) गम्भीर आपत्ति प्रकट गर्दछ।
सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेइजिङमा भएको सहमतिबाटै लिपुलेकलाई भारत-चीन व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने प्रयास भएको थियो। जसको तत्कालीन समयमा नेपाल सरकारले कूटनीतिक असहमति प्रकट गर्दै दुवै मुलुकलाई सच्याउन औपचारिक नोट पठाएको थियो। तर दुःखको कुरा, नेपालको यस विषयमा स्पष्ट आपत्ति हुँदाहुँदै पनि भारत र चीनले पुनः त्यही गल्ती दोहोर्याउनु, नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति गम्भीर उपेक्षा र अपमान हो।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) यो एकपक्षीय कदमलाई अस्वीकार गर्दछ र यसलाई छिमेकी मुलुकहरूको हेपाहा प्रवृत्तिको प्रतिबिम्बका रूपमा हेर्दछ। तर यससँगै, नेपाल सरकारको कूटनीतिक सक्रियता र दृढतामा देखिएको कमजोरीले पनि सीमा र राष्ट्रिय हितको संवेदनशील प्रश्नलाई अझ जटिल बनाएको हाम्रो ठहर छ।
हाम्रो पार्टी यस मामलामा जोड दिन चाहन्छ कि, सीमा विवाद तथा संवेदनशील कूटनीतिक विषयहरूको समाधानका लागि नेपालले अझ प्रभावकारी, सशक्त र परिणाममुखी कूटनीतिक पहल गर्नुपर्छ। नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै भारत-चीन-नेपालबीच समानता, आपसी सम्मान र परस्पर विश्वासमा आधारित त्रिदेशीय सहकार्यको ढाँचा (Trilateral Framework of Cooperation) निर्माण गर्नु जरूरी छ ।
नेपाल कुनै पनि शक्तिको हेपाइ र चेपुवामा पर्ने मुलुक होइन; नेपाल भूपरिवेष्ठित मात्र होइन, भुजडित मुलुक पनि हो। दुई विशाल अर्थतन्त्रबीचको गतिशील पुलका रूपमा नेपालको भूमिका अझ मजबुत पार्दै राष्ट्रिय स्वार्थको संरक्षण र प्रवर्द्धन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा कूटनीतिक एवं राजनीतिक प्रयास गरिनु पर्दछ र नेपालको स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि आवश्यक कुटनीतिक र राजनीतिक कदम चाल्न हामी नेपाल सरकारलाई जोडदार अपिल गर्दछौं ।
टिप्पणीहरू: