- भदौ ०२, २०८१
गाजा पट्टी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले शुक्रबार हमासले इजरायलको सर्तहरू स्वीकार नगरे गाजा सहर पूर्ण रूपमा नष्ट हुनसक्ने चेतावनी दिएका छन् । उनका अनुसार देशले यस क्षेत्रमा थप ठूलो आक्रमणको तयारी गरिरहेको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा सहर कब्जा गर्न सेनालाई ठूलो कारबाहीको अनुमति दिएको भोलिपल्ट, रक्षामन्त्री काट्जले गाजाको सबैभन्दा ठूलो सहर पनि ‘रफाह र बेत हानुन’ जस्तै भग्नावशेष बन्न सक्ने चेतावनी दिए । यी दुवै स्थान युद्धको सुरुमा नै ध्वस्त भएका थिए ।
“हमासका हत्यारा र बलात्कारीहरूले युद्ध अन्त्यका लागि इजरायलका सर्तहरू स्वीकार नगरेसम्म गाजामा उनीहरूको टाउकोमा नरकको ढोका चाँडै खुल्नेछ”, काट्जले एक्समा लेखेका छन् ।
उनले युद्धविरामका लागि इजरायलले राखेको माग सबै बन्धकहरूको रिहाइ र हमासको पूर्ण निःशस्त्रीकरणलाई दोहोर्याए ।
तर हमासले भने बन्धकहरूलाई युद्ध अन्त्यको सर्तमा मात्र छोड्ने जनाएको छ र प्यालेस्टिनी राज्य गठनबिनै निःशस्त्रीकरण अस्वीकार गरेको छ ।
गाजा सहरमा ठूलो स्तरको अपरेसन केही दिनमै सुरु हुनसक्ने अनुमान छ ।
गाजा सहर हमासको प्रमुख सैन्य र प्रशासनिक गढ मानिन्छ । यहाँ इजरायलको विश्वास अनुसार व्यापक भूमिगत टनेल नेटवर्क छ । यस क्षेत्रमा अझै पनि लाखौँ नागरिक बसोबास गर्छन् र केही महत्त्वपूर्ण पूर्वाधार तथा स्वास्थ्य सुविधा बाँकी छन् ।
हमासले यसै हप्ता अरब मध्यस्थकर्ताहरूको युद्धविराम प्रस्ताव मान्ने जनाएको थियो । यदि इजरायलले उक्त प्रस्ताव स्वीकृत गर्यो भने आक्रमण रोक्न सक्ने सम्भावना छ । तर पक्षहरूले प्रत्यक्ष वार्ता नगरेका कारण यस्ता घोषणा अघिल्ला पटकजस्तै असफल हुने आशङ्का पनि छ ।
प्रस्तावले बन्धक–कैदी आदानप्रदान, इजरायली सेनाको चरणबद्ध फिर्ता र दीर्घकालीन युद्धविरामका लागि निरन्तर वार्ता गर्ने योजना समावेश गरेको छ । तर यसअघि नेतान्याहुको गठबन्धनभित्रै विभाजन र दक्षिाणपन्थी कडा दबाबका कारण त्यस्तै सम्झौता असफल भएको थियो ।
सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वका लडाकूहरूले गरेको आक्रमणपछि अझै जीवित रहेका करिब २० जना बन्धकलाई यस पटकको आक्रमणले खतरा बढाउने इजरायलीहरूको डर छ । सहायता संस्था र अन्तर्राष्ट्रिय नेताहरूले गाजाको मानवीय सङ्कट अझ गहिरिन सक्ने चेतावनी दिएका छन् ।
निकासी गर्ने नागरिकहरूको व्यवस्थापन अत्यन्त कठिन हुने अपेक्षा गरिएको छ । गाजामा कतै पनि सुरक्षित नभएकाले धेरै बासिन्दाले बारम्बार विस्थापन व्यर्थ भएको बताएका छन् । चिकित्सा समूहहरूले बिरामीलाई आवश्यक सुविधान नभएको दक्षिणतर्फ सार्ने इजरायलको आग्रह व्यवहारमा असम्भव भएको भन्दै चेतावनी दिएका छन् ।
तर नेतान्याहुले यो आक्रमण नै बन्धकहरूलाई मुक्त गर्ने र हमासलाई कमजोर पार्ने एक मात्र निश्चित उपाय भएको तर्क गर्नुभएको छ ।
“यी दुई कुरा-हमासलाई पराजित गर्नु र हाम्रा सबै बन्धकलाई मुक्त गर्नु-सँगै अघि बढ्छन्”, नेतान्याहुले बिहीबार दक्षिणी इजरायल नजिकैको कमान्ड सेन्टर भ्रमणका क्रममा भने।
टिप्पणीहरू: