शनिबार, २१ भदौ २०८२

माेबाइल चाेरीकाे अभियाेगमा दलित युवककाे कुटेर हत्या


काठमाडाैं । राैतहटमा मोबाइल चोरीको आरोपमा कुटिएका एक दलित युवाको मृत्यु भएको छ ।

कुटपिटबाट सख्त घाइते भएका युवककाे वीरगञ्जस्थित स्पोर्ट अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे थियाे ।

रौतहट कटहरिया नगरपालिका-४ बहादुरपुरका २८ वर्षीय नसिव बैठाको ११ भदौमा मृत्यु भएको हो ।

मृतकका भाइ दर्शन बैठाका अनुसार साउन  १६ कटहरिया बजारको एक खाजा पसलमा स्थानीय ३२ वर्षीय गर्भुदयाल सर्भङ्गले आफ्नो मोबाइल चोरी भएको भन्दै साथीहरु बाेलाएर नसिवलाई निर्घात कुटेका थिए ।

त्यसको भोलिपल्ट साउन १७ गते स्थानिय सञ्जय यादव र उनका भाइ विजय यादवले आफ्नो मोबाइल चोरी गरेको भन्दै नसिवलाई आँपको बगैँचामा लगेर निर्घात कुटपिट गरे। तर, माेबाइल नसिवले चाेरेका थिएनन् जसकाे माेबाइल हरायाे भनिएकाे थियाे उनकै घरमा भेटिएकाे थियाे ।

नसिव कुटिएकाे चार दिनमा  बुबा बाबुलाल बैठाको मृत्यु भयो । यता नसिव पनि गल्दै गए । कुटपिटको असरले शरीरमा दुखाइ बढ्दै थियो । बुबाको काजकिरिया सकेपछि नसिवलाई उपचारको लागि भदौ पहिलो साता वीरगञ्जकै स्पोर्ट हस्पिटलमा उपचारको लागि भर्ना भए । उपचारको क्रममा ११ भदौ बुधबार बिहान  नसिवको मृत्यु भयाे ।

त्यही दिन नारायणी उपक्षेत्रीय अस्पतालमा पोस्टमार्टमपश्चात् घर ल्याएर नसिवको अन्त्येष्टि गरिएको थियो । नसिवका ७ वर्षीय जेठा छोरा विशाल किरिया बसेका छन् ।

नसिवको मृत्युपश्चात् उनको परिवारले चारजनाविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको छ । जाहेरीको आधारमा चारजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको डीएसपी राजन कार्कीले बताए । जसमध्ये ३२ वर्षीय गर्भुदयाललाई पक्राउ गरी कारबाही अघि बढाइएको र अन्य तीनजनाको खोजी भइरहेको उनले बताए ।

नेपालकाे तराई क्षेत्रमा दलित समुदायमाथी बढी नै विभेद हुने गरेकाे छ । सिरहामा गत जेठमा दुर्गा मन्दिरको पर्खाल निर्माणको नाममा ६ जना दलित परिवारको बाटो नै बन्द गरिएको थियाे । सिरहाको विष्णुपुर गाउँपालिका– ४ थलहा कटाहास्थित दुर्गा मन्दिरको कम्पाउन्ड वाल  निर्माणको क्रममा ६ परिवार चमार समुदायको बाटो बन्द गरिएको थियाे ।

गत चैतमा सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका लागि स्थानीय एक डोम परिवारको घर भत्काइएको थियाे । कथित बाबा बजरंगी बाबाकाे आदेशमा 

विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको थियाे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ