बिहिबार, ०८ असोज २०८३

अध्यक्ष कमरेडको असहमतिमा म पार्टी अध्यक्ष बन्दिनँ : शंकर पाेखरेल


काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल हटाउने वा पार्टी विभाजनको जोखिम निम्त्याउने गरी विशेष महाधिवेशन गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्। तर, उनले पार्टीभित्र देखिएका कमजोरीलाई स्वीकार गर्दै वैचारिक तथा सांगठनिक सुधार आवश्यक रहेको धारणा राखेका छन्।

ललितपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै पोखरेलले ‘सुधारसहितको एकता’ अहिलेको आवश्यकता भएको बताए। उनको अभिव्यक्तिले पछिल्लो समय एमालेभित्र चर्किएको नेतृत्व पुनर्गठनको बहसलाई व्यक्ति परिवर्तनभन्दा पार्टी सुधारतर्फ मोड्ने प्रयास गरेको देखिन्छ।

पोखरेलले अध्यक्ष ओलीविरुद्ध अभियोग लगाउने काम आफूबाट नहुने बताए। लामो समयदेखि ओलीसँगै काम गरेको उल्लेख गर्दै उनले अध्यक्षविरुद्ध विशेष महाधिवेशनको नेतृत्व पनि नगर्ने स्पष्ट पारे।

उनले आफू पार्टी अध्यक्ष बन्न खोजिरहेको भन्ने चर्चा पनि अस्वीकार गरे। ‘अध्यक्ष कमरेडको असहमतिमा म पार्टी अध्यक्ष बन्दिनँ’ भन्ने उनको भनाइले नेतृत्व परिवर्तनको बहसमा आफ्नो व्यक्तिगत आकांक्षा नरहेको सन्देश दिन खोजेको देखिन्छ।

समस्या छ भने स्वीकार गरेर समाधान खोजौं

पोखरेलको सम्बोधनको अर्को महत्वपूर्ण पक्ष पार्टीभित्र समस्या रहेको स्वीकारोक्ति हो। उनले एमालेको पछिल्लो निर्वाचन परिणामलाई पीडादायी र अकल्पनीय भन्दै त्यसको कारण गम्भीर रूपमा खोजिनुपर्ने धारणा राखे।

उनका अनुसार आफूहरूले मुलुककै सबैभन्दा संगठित पार्टी भनेर दाबी गर्दै आए पनि निर्वाचनपछिको विश्लेषण कमजोर र सतही हुनु आफैंमा समीक्षा गर्नुपर्ने विषय हो। त्यसैले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल गठन गरिएको उनको भनाइ थियो।

पोखरेलले पार्टीको संकटलाई केवल बाह्य कारणबाट व्याख्या गरेर समाधान नहुने संकेत गरेका छन्। पार्टीभित्र देखिएका राजनीतिक, वैचारिक र संगठनात्मक समस्यालाई आत्मसात गरेर मात्रै सुधारको बाटो खोल्न सकिने उनको तर्क छ।

कार्यदलको प्रतिवेदनलाई केन्द्रमा राख्ने प्रयास

महासचिव पोखरेलले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदन केन्द्रीय कमिटीमा ल्याउन पनि जोड दिएका छन्। कार्यदलका सदस्यसचिवसमेत रहेका पोखरेलले तल्लो तहबाट आएका सुझाव समेटेर तयार भएको प्रतिवेदनले आगामी एमालेको संगठनात्मक दिशा निर्धारण गर्न सक्ने बताएका छन्।

‘पार्टीलाई अघि बढाउने हो भने त्यो प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्छ’ भन्ने उनको भनाइले नेतृत्व परिवर्तनको विवादभन्दा कार्यदलले औंल्याएका समस्या र सुझावलाई संस्थागत रूपमा छलफल गर्ने बाटो रोजेको देखिन्छ।

यही विषयमा एमालेभित्र भने मतभिन्नता कायमै छ। केही नेताले पुनर्गठनको अर्थ नेतृत्व परिवर्तनसमेत हुनुपर्ने धारणा राखिरहेका छन् भने अर्काथरी नेताहरूले पार्टीको सामूहिक कमजोरीलाई स्वीकार गर्दै संगठन सुदृढीकरणमा जोड दिएका छन्।

ओलीसँगको सम्बन्धबारे पोखरेलको स्पष्ट सन्देश

पोखरेलले आफ्नो सम्बोधनमा अध्यक्ष ओलीसँग राजनीतिक दूरी नरहेको स्पष्ट पार्ने प्रयास गरेका छन्। उनले आफूले राखेका असहमतिको अर्थ अध्यक्षलाई अस्वीकार गर्नु नभएको बताएका छन्।

‘सुधार पनि गर्न नसक्ने र मिल्न पनि नसक्ने’ अवस्थाले पार्टीलाई संकटतर्फ लैजाने भन्दै उनले सुधार र एकतालाई सँगसँगै अघि बढाउनुपर्ने धारणा राखे। उनको निष्कर्ष थियो-एमालेभित्र सुधार आवश्यक छ, तर त्यो सुधार विभाजन वा विग्रहको बाटोबाट होइन, संस्थागत प्रक्रियाबाट हुनुपर्छ।

यससँगै पोखरेलले अध्यक्ष ओलीसँग आफ्नो असहमति नरहेको र अध्यक्षलाई त्यस्तो अनुभूति भएको भए आगामी दिनमा त्यस्तो अनुभूति नहुने विश्वाससमेत दिलाएका छन्।

अब एमालेको बहस कुन दिशामा ?

पोखरेलको पछिल्लो अभिव्यक्तिले एमालेको आन्तरिक शक्ति संघर्षलाई तत्काल नेतृत्व परिवर्तनको बहसभन्दा ‘सुधारसहितको निरन्तरता’तर्फ लैजाने संकेत गरेको छ। तर, यसले पार्टीभित्र उठिरहेका नेतृत्व तथा संगठन पुनर्गठनका प्रश्न पूर्ण रूपमा समाधान गरिसकेको भने देखिँदैन।

केन्द्रीय कमिटी बैठकमा विभिन्न नेताहरूले अध्यक्षको भूमिकादेखि कार्यदलको प्रतिवेदन र पार्टी पुनर्गठनसम्मका विषयमा फरक–फरक धारणा राखेका छन्। त्यसैले पोखरेलको ‘सुधारसहितको एकता’ अवधारणा एमालेभित्रको असन्तुष्टि समाधान गर्ने संस्थागत आधार बन्छ कि तत्कालको विवाद व्यवस्थापन गर्ने राजनीतिक समझदारीमा सीमित हुन्छ भन्ने प्रश्न भने खुलै छ।

एमालेले अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन भने केन्द्रीय कमिटीबाट सर्वसम्मत रूपमा पारित गरिसकेको छ। यसले तत्कालका लागि पार्टीको औपचारिक राजनीतिक दिशामा अध्यक्ष ओलीको प्रतिवेदनलाई संस्थागत समर्थन प्राप्त भएको देखाउँछ।

तर, कार्यकर्ताको तहबाट उठेका संगठनात्मक सुधार, नेतृत्व सञ्चालनको शैली र पार्टी पुनर्गठनका प्रश्नहरू कति सम्बोधन हुन्छन् भन्ने विषयले एमालेको आगामी राजनीतिक यात्रा निर्धारण गर्ने देखिन्छ।

पोखरेलको सन्देश स्पष्ट छ-ओलीलाई हटाउने होइन, एमालेभित्र देखिएका कमजोरी सच्याउने; विभाजन होइन, सुधारसहितको एकता। अब यो राजनीतिक लाइन व्यवहारमा कसरी कार्यान्वयन हुन्छ भन्ने नै एमालेका लागि मुख्य प्रश्न बनेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ