सोमबार, ०३ कात्तिक २०८२

बालेनका नोकरलाई हामी टेर्नेवाला छैनौँ : महेश बस्नेत


काठमाडौं। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनलाई विदेशी शक्तिहरूले चलाएको जालमा परेका युवाहरूको अस्थिर राजनीतिक खेलका रूपमा वर्णन गरेका छन्। भक्तपुरमा बिहीबार नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले भने – ‘जेनजी आन्दोलन खरायोका लागि थापिएको जाल थियो, तर चितुवा पर्‍यो, बिचरा जेनजीका उरन्ठेउलाहरूले विदेशीको जालमा परेको कुरा थाहा नै पाएनन् ,अहिले त्यही चितुवाले खान्छ कि भन्ने डर छ।’

उनले केही व्यक्तिहरूले सामाजिक सञ्जाल डिस्कर्डमार्फत जलाएका बताए । ‘केही उरन्ठेउलाहरूले डिस्कर्ड नेटवर्कमार्फत देश जलाए, त्यो डिस्कर्ड बालेन साह, सुधन गुरुङलगायतले चलाएका छन्, ती नै अहिले केपी ओली, रमेश लेखकलगायतलाई पक्राउ गर्नुपर्ने भन्दै उत्रिएका छन्।’

उनले नेकपा एमालेलाई धम्क्याएर डराउन नसकिने बताउदै भने ‘हिजो पञ्चायतसँग, माओवादीसँग, वाइसिएलसँग लडेका हामीलाई धम्क्याएर केही हुँदैन, एमालेलाई धम्क्याएर हल्लाउन सकिँदैन।’

भ्रष्टाचार छानबिनको कुरा उठाउँदै उनले जेनजी आन्दोलनले भ्रष्टाचार विरोधी अभियान चलाउने हो भने हालका मन्त्री कुलमान घिसिङ र रामेश्वर खनालबाट नै छानबिन सुरु गर्नुपर्ने बताए। ‘जेनजीले भ्रष्टाचार छानबिन गर्ने भनेका छन् भने अहिलेका भ्रष्ट मन्त्रीहरूबाट नै सुरु होस्।’ उनले भने ।

भदौ २३ र २४ गतेका घटनाको सन्दर्भमा उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीमाथि आरोप लगाउनेहरूलाई तथ्य प्रमाणसहित आउन चुनौती दिए। ‘भदौ २३ र २४ गतेका घटनाको छानबिन ओलीबाट होइन, बालेन र सुधन गुरुङबाट सुरु होस्, यदि ओलीले गोली चलाउन आदेश दिएको प्रमाण छ भने लिएर आउनुहोस्, पेशेवर अपराधी ल्याएर, सार्पसुटरमार्फत कलिला बालबालिकाको हत्या गरियो।’

सुरक्षाको सन्दर्भमा उनले आफ्ना कार्यकर्ताहरूलाई सचेत रहन आग्रह गरे। ‘अब आफ्नै सुरक्षाको जिम्मा लिनुपर्ने बेला आएको छ, गुण्डु गलत नियतले आए भने अचार बनाएर पठाउँछौँ, गुण्डुतिर आँखा सोझ्यायौ भने आँखै फुटाइदिने छौँ।’ उनले भने ।

 बालेन साहको समूहप्रति चेतावनी दिँदै गृहमन्त्रीलाई भने – ‘बालेनका नोकरलाई हामीले टेर्नेवाला छैनौँ।’

उनले राष्ट्रिय युवा संघ नेपालले असोज २५ गते काठमाडौंमा विशाल मोटरसाइकल र्‍याली आयोजना गर्न लागेको जानकारी दिनुभयो।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ