- भदौ ०२, २०८१
वासिङ्टन। अमेरिकी सरकारको इतिहासकै सबैभन्दा लामो शटडाउन अन्त्यतर्फ अघि बढ्दै गएको छ। सोमबार सिनेटमा स्टपग्याप कोष विधेयक ६०–४० मतले पारित भएपछि देश पुनः सञ्चालनमा फर्किने आशा देखिएको हो।
यस विधेयकलाई समर्थन गर्न धेरै डेमोक्रेटिक सिनेटरले पार्टीको रेखा तोड्दै रिपब्लिकनहरूसँग मत दिएका थिए। अब यो विधेयक प्रतिनिधिसभामा मतदानका लागि पठाइनेछ, जहाँ रिपब्लिकनहरूको नियन्त्रण रहेको छ।
अक्टोबर १ बाट सुरु भएको शटडाउनका कारण करिब दश लाख सङ्घीय कामदार बेतलबी बनेका थिए र विभिन्न सरकारी सेवा तथा सुविधा बन्द भएका थिए। हालै हवाई यातायातमा गम्भीर असर परेपछि दैनिक एक हजारभन्दा बढी उडान रद्द हुँदा राजनीतिक दबाब झनै बढेको थियो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘हामी हाम्रो देशलाई अब धेरै चाँडै पुनः खोल्नेछौँ। यो सम्झौता निकै राम्रो छ।’
सिनेटमा मतदानपछि रिपब्लिकन नेता जोन थुनले एक्समा लेखे, ‘यो अनावश्यक शटडाउनलाई जिम्मेवार तरिकाले अन्त्य गर्न पाउँदा म अत्यन्त सन्तुष्ट छु। यसले सङ्घीय कामदारहरूलाई तुरुन्तै भुक्तानी दिलाउनेछ र सरकार पुनः सञ्चालनमा ल्याउनेछ।’
रिपब्लिकन विधेयकलाई समर्थन गर्ने डेमोक्रेटिक सिनेटर जोन फेटरम्यानले पनि एक्समा लेखे, ‘सबैलाई खाना दिनुहोस्। हाम्रो सेना, सरकारी कर्मचारी र क्यापिटल प्रहरीलाई भुक्तान गर्नुहोस्। विमानस्थलको अराजकता अन्त्य गर्नुहोस्। देश पार्टीभन्दा ठूलो हो।’
सिनेटबाट विधेयक पारित भएपछि अब यो प्रतिनिधिसभामा पेश हुने तयारी भइरहेको छ। मङ्गलबार राष्ट्रिय बिदा भएकाले बुधबार बिहान चाँडै सभामा छलफल अपेक्षित छ।
सदनका सभामुख माइक जोनसनले पत्रकारहरूसँग भने, ‘हाम्रा लामो राष्ट्रिय दुःस्वप्न अन्त्य हुने क्रममा छ। केही डेमोक्रेटहरू अहिले अन्ततः त्यही गर्न तयार देखिन्छन्, जुन रिपब्लिकन र राष्ट्रपति ट्रम्पले हप्तौँदेखि आग्रह गर्दै आउनुभएको थियो।’
शटडाउनका क्रममा स्थगित गरिएको सदन यस हप्ता पुनः बोलाइने उनले जानकारी दिए।
‘ओबामाकेयर’ विवाद
सिनेटमा गतिरोधको प्रमुख कारण स्वास्थ्य बीमा कार्यक्रम ‘ओबामाकेयर’ सम्बन्धी अनुदान विस्तार हो। डेमोक्रेटहरूले वर्षको अन्त्यमा सकिने बीमा अनुदानलाई निरन्तरता दिन माग गरेका थिए, तर रिपब्लिकनहरूले सरकार खुलाएपछि मात्र वार्ता गर्न सकिने अडान लिएका थिए।
यदि अनुदान विस्तार भएन भने ‘ओबामाकेयर’ अन्तर्गत बीमा लिएका लाखौँ अमेरिकीको खर्च दोब्बर हुन सक्छ।
आइतबार राति भएको सम्झौताअनुसार सरकार जनवरीसम्म पुनः सञ्चालन हुनेछ। केही कार्यक्रम पूरै आर्थिक वर्षका लागि वित्तपोषित हुनेछन् र ट्रम्प प्रशासनले बर्खास्त गरेका केही सङ्घीय कामदारलाई पुनः नियुक्त गरिनेछ।
यस विधेयकले विशेष गरी चार करोड २० लाखभन्दा बढी न्यून आय भएका अमेरिकीलाई सहयोग पुर्याउने एसएनएपी खाद्य सहायता कार्यक्रमको कोष पुनःस्थापित गर्नेछ।
सिनेटका बहुमतका नेता जोन थुनले भने, ‘४० दिनको अनिश्चितता पछि अन्ततः पोषण कार्यक्रम, हाम्रा दिग्गजहरू र अन्य प्राथमिक क्षेत्रहरूले पूर्ण वर्षको कोष पाउने छन् भन्नेमा म खुसी छु।’
तर स्वास्थ्य बीमा अनुदान विस्तारको सुनिश्चितता अझै नभएको कारण केही डेमोक्रेटहरू असन्तुष्ट देखिएका छन्।
डेमोक्रेटभित्र विभाजन
सम्झौता समर्थन गर्ने आठ डेमोक्रेटमध्येकी सिनेटर जीन साहिनले भने, ‘सिनेटले लाखौँ अमेरिकीको स्वास्थ्य हेरचाह सुरक्षित गर्ने दिशामा ठूलो कदम चालेको छ।’
उनको भनाइमा यो सम्झौताले अल्पमतमा रहेका डेमोक्रेटहरूलाई पनि स्वास्थ्य हेरचाह विषयमा मतदान आह्वान गर्ने अधिकार दिएको छ।
तर अनुदान विस्तारको ग्यारेन्टी नभएकाले धेरै डेमोक्क्रेटहरू असन्तुष्ट बनेका छन्। क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले एक्समा लेखे, ‘दयनीय निर्णय।’
सिनेटका शीर्ष डेमोक्रेट चक शुमरले भने उक्त उपायलाई अस्वीकार गर्दै भने, ‘यो प्रस्तावले स्वास्थ्य सेवा सङ्कटलाई समाधान गर्न सक्दैन। हाम्रो लडाइँ जारी रहनेछ।’
उनको कमजोर नेतृत्वका कारण पार्टी एकताबद्ध हुन नसकेको भन्दै केही सांसदहरूले शुमरको आलोचना गरेका छन्। म्यासाचुसेट्सका प्रतिनिधि सेठ मौल्टनले भने, ‘आज राति फेरि प्रमाणित भयो कि हामीलाई नयाँ नेतृत्व किन आवश्यक छ।’
टिप्पणीहरू: