बुधबार, ०९ पुस २०८२

भूलचुकप्रति क्षमा माग्दै एमाले नेता अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा


काठमाडौं । भूलचुकप्रति क्षमा माग्दै एमाले नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन् ।  ६६ वर्षीय अधिकारीले सामाजिक सन्जाल फेसबुकमार्फत् सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् ।

पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालिन भएर काम गरेको र ३३ वर्ष एमालेको केन्द्रीय सदस्य बनेको जानकारी गराउँदै उनले आफु कहिल्यै नेता नबनेको बताएका छन् ।

आफु कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएँ भन्दै समाज बदल्न हिंडेको वास्तबिक झोले कार्यकर्ता भएकाे उल्लेख गरेका छन् ।  उनले लेखेका छन्, ‘मैले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते गरिनँ ।’

आफूले इमान, निष्ठा र समर्पणकासाथ काम गरेको भन्दै उनले लेखेका छन्, ‘तन, मन र धन समेत दिएर निसर्त तथा निस्वार्थरुपमा गरें, म ल्यांगल्यांगे कार्यशैलीको विरोधी हुँ, जसरी पनि जिम्मा पुरा गर्ने मेरो कार्यशैली रह्यो ।’

सपना असल कम्युनिष्ट बन्ने भए पनि सबै मानकहरु पुरा गर्न नसकेको भन्दै अब पार्टीका कुनै पनि कमिटी र निकायमा नरहने जानकारी गराएका छन् ।

‘अब पार्टीका कुनै पनि कमिटी र निकायमा रहने छैन । साधारण सदस्य रहेर पार्टी, समाज र देशका हितमा यथासम्भव काम गरिरहनेछु,’ उनले भनेका छन्, ‘गुनासो गरेर होइन, नेतृत्वप्रति आभार र धन्यवाद व्यक्त गरेर, खुसीले, ६६ वर्षको उमेरमा सक्रिय राजनीतिबाट बिदा भएको छु ।’

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ