सोमबार, ०९ चैत २०८२

४८ घन्टाभित्र स्ट्रेट अफ होर्मुज नखाेले इरानकाे पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पकाे चेतावनी


अमेरिकाका राष्ट्रपति डाेनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्।

उनले इरानको क्षेत्रमा पर्ने ऊर्जा ढुवानीका लागि विश्वकै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका हुन्।

ट्रम्पले आइतबार बिहान आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘यदि इरानले ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोलेन भने अमेरिकाले इरानका पावर प्लान्टमा आक्रमण गरी ध्वस्त पार्नेछ र यो सबैभन्दा ठुलो प्लान्टबाट सुरु गरिनेछ।’

इरानले शनिबार साँझ इजरायलमा दुई क्षेप्यास्त्र प्रहार गरेको केही घण्टापछि ट्रम्पबाट उक्त चेतावनी आएको हो।

इरानले शनिबार साँझ इजरायलमा गरेको आक्रमणमा १०० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्। यो हमला युद्ध सुरु भएयताकै घातक भएको बीबीसीले उल्लेख गरेको छ। 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु स्वयंले शनिबार साँझ भएको आक्रमणलाई ‘धेरै कठिन साँझ’ भनेका छन्।

यसअघि शनिबार यूएईसहित २२ देशले संयुक्त विज्ञप्ति जारी गरी स्ट्रेट अफ होर्मुज सुरक्षाका लागि योगदान गर्न तयार रहेको घोषणा गरेका थिए। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ