- असार ०६, २०८०
काठमाडाैं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा अनिधिकृत रुपमा परिवर्तन गरिनु सामान्य घटना नभएको बताएका छन्।
सामाजिक सञ्जाल फेशबुक मार्फत् कोइरालाले ‘कुलिङ अफ पिरियड’का सम्बन्धमा गरिएको अनधिकृत परिवर्तन घोर अपराध र सार्वभौम संसद्प्रतिको अपमान भएको बताएका हुन्।
आइतबार प्रतिनिधिसभाबाट पारित विधेयकमा निजामती सेवाबाट अवकाश पाएको कर्मचारीले कम्तीमा दुई वर्षसम्म अर्को कुनै नियुक्ति लिन नपाइने प्रावधान राखिएको थियो।
तर त्यो प्रावधानलाई निष्प्रभावी बनाउने गरि त्यसमा ‘बाहेक’ भन्ने शब्द घुसाइएपछि अहिले त्यसले चौतर्फी विराेध भइरहेकाे छ।
‘सर्वसम्मतिबाट संसद्मा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो,’ नेता कोइरालाले फेसबुकमा लेखेका छन्, ‘यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारवाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाउँ। कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारवाही अगाडि बढ्नु हुँदैन र बढ्दैन।’
टिप्पणीहरू: