शुक्रबार, १९ मंसिर २०८२

ओली समूहले बिर्सियो मनमोहन, मदन भण्डारी र पुष्पलाल


काठमाडौं। एघारौं महाधिवेशनका लागि प्रतिनिधि छनौटका क्रममा रहेको नेकपा एमालेमा अध्यक्षका प्रत्याशीका उम्मेदवारले नारा सार्वजनिक गरेका छन्।

वर्तमान अध्यक्ष एवं आगामी अधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका केपी शर्मा ओली समूहले आफ्नो समूहको पोष्टर सार्वजनिक गरेको तीन दिनपछि अध्यक्षका प्रत्याशी ईश्वर पोखरेल समूहले पनि पोष्टर सार्वजनिक गरेको छ।

ओली समूहको पोष्टरमा बायाँ साइडमा ओलीको एक हात उठाएको फोटो राखिएको छ भने पृष्ठभूमिमा नेपालको नक्सा र झण्डा राखिएको छ। अनि नारा लेखिएको छ ‘जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व’।

ईश्वर पोखरेल समूहको पोष्टरमा बायाँपट्टि कुनामा माथिपट्टि पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्विर राखिएको छ भने दायाँपट्टि कुनामा चुनाव चिन्ह सूर्य छ। ईश्वर पोखरेलको फोटो राखेर नारा लेखिएको छ, ‘लोकतान्त्रिक समुन्नत देश, नयाँ नेतृत्व नयाँ सन्देश’ पृष्ठभूमिमा एमालेको पार्टी अफिस राखिएको छ।

पोष्टरले पनि देखाउँछ, दुवै समूह जित्नुपर्ने चर्को दबाबमा छन्। ओली समूहले पुरानो राष्ट्रवादी छविलाई प्रचार गर्न खोजेको देखिन्छ। ओली समूहले कम्युनिष्ट पार्टीका स्वदेशी एवं विदेशी कोही पनि नेतालाई स्थान दिएका छैनन्। आफूलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिका ओलीले पोष्टरमा आफ्नै मात्रै तस्विर राखेका छन्।

पृष्ठभूमिमा राखेको चुच्चे नक्सा र राष्ट्रिय झण्डाले ओलीको उही पुरानै राष्ट्रवादी छविको प्रचार गर्न खोजेको देखिन्छ। पोखरेल समूहको पोष्टरमा भने पुराना कम्युनिष्ट नेतृत्व, चुनाव चिन्ह र पार्टी कार्यालयको तस्विर संगै नयाँ नेतृत्वको कुरा गरेर पार्टीलाई लोकतान्त्रिक प्रक्रियामा लैजाले प्रयाश गरेको देखिन्छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ