शुक्रबार, ०७ कात्तिक २०८२

प्रचण्डको ‘म्याजिक’ले टरेको भदाै २७ काे त्यो संकट


काठमाडौँ। नेपाली राजनीतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को म्याजिक नम्बरको चर्चा खुब हुन्थ्यो एकताका। ३२ सिट ल्याएको पार्टीले कांग्रेस–एमालेलाई पालैपालो घुमाउँदै प्रधानमन्त्री खाएको भन्दै उनको ‘म्याजिक नम्बर’काे चर्चा भएको थियो। प्रचण्ड स्वयंले पनि आफूलाई ‘म्याजिक नम्बर’ दाबी गर्थे बेला बेलामा। जब कांग्रेस–एमालेको संयुक्त सरकार बन्यो, त्यसपछि प्रचण्डको म्याजिक नम्बर बेकामी भयो।

अन्तरिम सरकारकाे प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्ति गर्ने बेलामा भने उनको ‘म्याजिक’ कामयाबी भएको थियो।

सामाजिक सञ्जाल बन्दको विरोध र सुशासनको पक्षमा जेनजी युवाहरुले गरेको आन्दोलनका क्रममा सरकारले उग्र दमन गर्दा भदौ २३ गते एकैपटक १९ जनाको निधन भयो। सरकारले निर्दोष युवाको ज्यान लिएको भन्दै २४ गते सडकमा आएको आक्रोशित भिडले सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत देशका प्रमुख निकायहरू, बैंक तथा व्यावसायिक भवन, राजनीतिक दलका शीर्ष नेतृत्व र नेताहरूका घरहरू तोडफोड र आगजनी गरेर ध्वस्त बनाइदियो।

पहिलो दिनको आन्दोलनमा १९ जनाले ज्यान गुमाएको तथ्य सार्वजनिक भएपछि स्थिति असहज हुनसक्ने भन्दै राष्ट्रपति रामचन्द्र पौडेल, सुरक्षा निकायका प्रमुखलगायतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन सुझाव दिएका थिए तर, ओलीले मानेनन्।

स्थिति नियन्त्रण बाहिर गएपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा लेखेर बालुवाटारबाट सेनाको हेलिकोप्टरमार्फत शिवपुरी ब्यारेक पुगे।

सेनाको सुरक्षामा प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विपक्षी दलको मिटिङका लागि बिहान ८ बजे सिंहदरबार पुगेका थिए। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका नारायणकाजी श्रेष्ठ, वर्षामान पुनलगायतका नेताहरू सिंहदरबारमै थिए।

प्रचण्ड मिटिङमै थिए। बिहान १० बजेतिर जानकारी आयो- ‘प्रचण्ड निवासमा ढुङ्गामुढा भयो।’ बिहान १० बजे आएका समूह ढुङ्गामुढा गरेर फर्किएका थिए। त्यसको ३ घन्टापछि आएको अर्को समूहले घर जलाएको थियो। घर जल्दासम्म प्रचण्ड सिंहदरबारमै थिए। तत्कालै सेनाले सुरक्षा दियो।

प्रचण्डनिकट स्रोतका अनुसार प्रचण्ड टाढा गएनन्। सेनाले अनामनगर आसपास सुरक्षा दिएर राख्यो। उनी दिनभरि त्यहीँ बसे। स्रोत भन्छ, ‘संयोग यस्तो पर्यो कि त्यो दिन प्रचण्डको सुरक्षामा खटिने प्राय: जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका रहेछन्। त्यसकारण पनि प्रचण्डको कन्फिडेन्स बढेको थियो।’ उनलाई सेनाले सचिवालयको समेत सुविधा उपलब्ध गराएको थियो।’

प्रधान सेनापतिको पहल

भदाै २४ गते राति १० बजेबाट नेपाली सेनाले स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेपछि सुरक्षा स्थिति सहज भयो। प्रधान सेनापति अशोकराज सिग्देलको पहलमा जेनजी प्रतिनिधिसंग संवाद सुरु भयो। दुर्गा प्रसाईं, बालेन शाह, हर्क साङपाङलगायतसँग प्रधान सेनापतिले वार्ता जारी राखे।

सैनिक मुख्यालयमा विभिन्न समूहसँग वार्ता जारी राख्दा सामाजिक सञ्जालमा थरीथरी हल्ला चले, ‘राजा आउँदैछन्, ब्रुमरले नारायणहिटी सफा गर्न थालिसके’ आदि इत्यादी।

प्रधानमन्त्रीले दिएको राजीनामा राष्ट्रपतिले स्वीकृत गरिसकेको अवस्थामा राज्यमा एकखालको अन्यौलता थियो। राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतबाट दबाब नआउने कुरै भएन। सबैभन्दा धेरै दबाब प्रधान सेनापति सिग्देलले झेले। शायद कुनै दिन सिग्देलले किताब लेखे भने धेरै कुरा खुल्ला।

बालेनले आँट गरेनन्

प्रधानमन्त्री नियुक्ति जति ढिला गर्यो, स्थिति त्यति नै नाजुक हुने अवस्थामा थियो। जेनजी युवाहरुले प्रधानमन्त्रीमा सिफारिस गरेका बालेन शाह र प्रधान सेनापति सिग्देलबीच सैनिक मुख्यालमै भेटघाट भयो। सेनापतिले बालेनलाई राखेको प्रधानमन्त्रीको प्रस्ताव बालेनले स्विकारेनन्। बालेन आफैँले सुशीला कार्की उपयुक्त हुने राय दिएर हिँडे।

सुशीला कार्कीको सर्त थियो- पहिला संसद् विघटन अनि प्रधानमन्त्री। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीको प्रस्ताव मानेनन्। उनी कुनै हालतमा संविधान जोगाएर अघि बढ्ने अडानमा थिए।

यसरी उपाय सुझाएका थिए प्रचण्डले

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पतालमा उपचाररत थिए भने ओली सैनिक ब्यारेकमा। २७ गते राष्ट्रपति भवन शीतल निवासमा प्रधान सेनापतिसहित राष्ट्रपति, प्रचण्ड, कार्की, जेनजी प्रतिनिधिसहितको मिटिङले संविधान जोगाएर सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने कुरा भयो।

प्रचण्डनिकट स्रोत भन्छ, ‘राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने, त्यसपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्ने उपाय प्रचण्डले सुझाएका थिए।’

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासंग प्रचण्डले प्रधानमन्त्री नियुक्त प्रक्रियाका बारेमा जानकारी गराएपछि कांग्रेस नेता बद्री पाण्डे शीतल निवास पुगेका थिए। कार्कीलाई प्रधानमन्त्री नियुक्ति त गर्ने तर कसले सिफारिस गर्ने भन्नेमा प्रश्न उठ्यो। प्रचण्डले राष्ट्रपति पौडेलसँग भने, ‘ओलीजीले सिफारिस गर्नुहुन्छ।’ राष्ट्रपति पौडेलले ओलीलाई फोन गरे। केहीबेरमै कार्कीलाई ओलीले सिफारिस गरेको हस्तलिखित पत्र आइपुग्यो। अनि कार्की प्रधानमन्त्रीमा नियुक्त भइन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ