शुक्रबार, २९ चैत २०८१

टुँडिखेलमा प्रजातन्त्र दिवसकाे राैनक


काठमाडौं। सैनिक मञ्च टुँडिखेलमा ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल,  उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको सहभागितामा टुँडिखेलमा बुधबार प्रजातन्त्र दिवस मनाइएको हो ।


सो अवसरमा राष्ट्रिय गान प्रस्तुति, झण्डोत्तलन, ज्ञात–अज्ञात सहिदप्रति मौनधारण गरिएको थियो । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएकाे थियाे ।

सोही अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ अङ्कित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि एवं रङ्गीचङ्गी बेलुनहरू उडाइएको थियो ।


समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाल स्काउटद्वारा ‘मार्चपास’ र ‘ब्याण्ड’ प्रस्तुत गरिएको थियो । समारोहमा उपत्यकाका विभिन्न नगरपालिकाका तर्फबाट सांस्कृति झाँकी तथा लाखे नाच, तेक्वान्दो खेल प्रस्तुत गरिएको थियो ।

समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्रीगण, सांसदहरू, संवैधानिक निकायका प्रमुख र पदाधिकारी, नेपाल सरकारका उच्चाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता थियाे।

प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका छन् ।

सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ