- असार ०६, २०८०
बुटवल । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार, एमाले र कांग्रेस नै चुनाव भाँड्ने गतिविधिमा लागेको भन्दै आलोचना गरेका छन् । चुनाव गराउने दायित्वमा रहेको सुशीला कार्की नेतृत्वको सरकारको तयारी चुनाव गराउनेभन्दा पनि आफ्नो सत्ता लम्ब्याउने र नियन्त्रित अस्थिरता निम्त्याउनेतर्फ केन्द्रित रहेको साहको आरोप छ ।
आजपा लुम्बिनी प्रदेश कमिटीको विशेष बैठकलाई बुटवलमा आज (बिहीबार) सम्बोधन गर्दै आजपा अध्यक्ष साहले प्रजातन्त्रको हिमायती भन्ने कांग्रेस अहिले केन्द्रीय समितिको बैठकसमेत सही तवरले चलाउन नसक्नेगरि ‘कुहिरोमा हराएको काग’झैं भएको भन्दै कांग्रेसको गतिविधि पनि चुनाव हुन नदिने षड्यन्त्रतर्फ उन्मुख रहेको आरोप लगाए ।
जेन–जी युवाहरुको हत्या गर्दा पनि कुनै पश्च्ताप र सार्वजनिक आत्मग्लानी नगरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त चुनाव नचाहनु स्वभाविक भएपनि कांग्रेसले समेत आफूलाई ओलीको पुच्छर बनाउनु युवाहरुको बलिदानी र जेन–जी पुस्ताको त्यागप्रति ठूलो धोका भएको साहको टिप्पणी छ । नेपाली कांग्रेस विगतमा ओलीकै पिछलग्गु बन्दा भदौ २३ गते जेनजीहरुले सचेत विद्रोह गरेको कुरा कांग्रेस भित्र विपी कोइरालाका अनुयायीहरुले बुझ्नुपर्ने उनको सुझाव छ ।
उनले एमाले नेतृत्वको हठले मुलुकले दुर्गति भोग्नुपरेको र कलिला युवाहरुको हत्या भएको भन्दै अहिले पनि कांग्रेसीजन ओलीको बाटोमा हिँड्न खोज्नु मुलुक र जनताको लागि ठूलो दुर्भाग्य हुने भन्दै सचेत हुन र चुनावको पक्षमा दृढताका साथ उभ्याउन सुझाव दिएका छन् । उनले प्रतिनिधिसभाको चुनाव हुन नदिनको लागि एमाले नेतृत्वले पूनःस्थापनाको नाटकमञ्चन गरेको भन्दै सचेत नेपालीले अब चुनावभन्दा अर्को बाटो नचाहेको स्मरण गराए । उनले एमाले चुनावमा जानको लागि डराएको भन्दै कांग्रेसलाई एमालेको पुच्छर भएर नहिँड्न सुझाव दिए ।
आजपा अध्यक्ष साहले जेन–जी आन्दोलनको भावना र स्पिरिटलाई वर्तमान सरकार र यसका मन्त्रीहरुले कुल्चिएको र ठूलो धोका दिएको पनि आरोप लगाए । कुलमान घिसिङले जेनजी आन्दोलनको अपहरण गरेको र सत्ताको चास्नीमा डुबेर दल खोल्ने काम गरेको भन्दै यो कदम जेनजी आन्दोलनप्रति धोका र अक्षम्य अपराध भएको साहको टिप्पणी छ ।
टिप्पणीहरू: