- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले शायदै सोचेका थिए यति छिट्टै शक्तिविहीन भइएला भनेर। उनकी पत्नी डा. आरजु राणाको रवाफले पनि त्यो संकेत कहिल्यै गरेन। पछिल्लो समय कांग्रेसभित्रको राजनीतिमा निर्णायक तहमा रहेकी राणा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्रीसमेत थिइन्।
प्राय सधैँ नेपाली राजनीतिको केन्द्रमा रहेका यी दम्पती फेरि कहिल्यै उठ्न नसक्ने गरी पछारिएका छन्। भन्न त भनिन्छ, राजनीतिमा सबथोक जायज हुन्छ। तर, आरजु-देउवा दम्पत्तीको जीवनमा फेरि त्यो दिन आउने सम्भावना कमै छ।
छैटौँ पटक आफू प्रधानमन्त्री हुने लोभमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेका देउवा प्रधानमन्त्री हुनका लागि दिन कुरेर बसेका थिए। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले उनको प्रधानमन्त्री हुने योजना मात्रै तुहाइ दिएन, पार्टी सभापतिको कुर्सीबाट पनि फेरि फर्किन नसक्ने गरी हुत्याइदियो।
विशेष महाधिवेशनमार्फत पार्टी सभापतिमा निर्वाचित गगन थापालाई सभापतिका रुपमा स्विकार्न आनाकानी गरिरहेका देउवा अझै कुनै गतिविधिमार्फत पार्टीमा ‘स्पेश’ खोजिरहेका छन्।
गगनसँग राखेको त्यो अडान
गगन थापालाई भावी प्रधानमन्त्रीकाे घोषणा गरेर कांग्रेस चुनावी अभियानमा होमिए पनि देउवा, पूर्णबहादुर खड्का, रमेश लेखक, मोहनबहादुर बस्नेतलगायतलाई चित्त बुझेको छैन। थापालाई अस्वीकार गर्दा गर्दै पनि देउवा समूहले टिकटका लागि थापासँगै छलफलमा थियो। आरजु राणा, मोहनबहादुर बस्नेत, ज्ञानेन्द्रबहादुर कार्कीलगायतलाई टिकट दिनुपर्ने देउवा समूहको माग गगनले अस्वीकार गरेपछि अहिले देउवा थप तनावमा छन्।
तैपनि केही गर्न सकिन्छ कि भन्दै अहिले देउवा ‘बुढा कांग्रेस’ भेलाको तयारीमा छन्। देउवाको अगुवाईमा हुने बुढा कांग्रेस भेलाले पार्टी नेतृत्वलाई कुनै असर पुर्याउन नसके पनि निर्वाचनमा उम्मेदवार भएकाहरुका हकमा भने नकारात्मक असर पर्ने निश्चित छ।
‘निर्वाचनमा टिकट पाएकाहरुमाथि असर नपरोस् भनेर पनि अहिले गतिविधि नगर्न सुझाव दिएका छौं’, देउवा समूहका एक नेताले भने।
टिप्पणीहरू: