शनिबार, २४ जेठ २०८२

शंकर पाेखरेले भने- गभर्नर नियुक्ति भयाे, अब सरकार ढल्छ भन्नका लागि नयाँ विषय खाेज्छन्


दाङ ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले हरेक दिन जसो यो सरकार ढल्छ भन्ने हल्ला फैलाउने काम गरिएको बताएका छन् । 
बुधबार बिहान प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले नेपालका राजनीतिक दल, सञ्चार क्षेत्र र नागरिक समाज मुलुकको विकास, समृद्धि र स्थायित्वको प्रश्नमा गम्भीर नभएको बताए । जसले जे उद्देश्यका हल्ला चलायो त्यसैका पछाडि बहकिने क्रम बढ्दै गएको उहाँले बताए । ‘अस्थिरतामा रमाउने जुन संस्कृति हुर्किएको छ, त्यो अत्यन्त दुःखद छ’, उनले भने ।

जबसम्म दुईवटा पार्टी मिल्छन् तबसम्म सरकार केही हुँदैन भन्ने यथार्थलाई समेत नबुझी सरकार ढल्ने हल्ला चलाइएको उनकाे भनाई थियाे। ‘जबसम्म दुईवटा पार्टी बिच समझदारी हुन्छ, तबसम्म यो सरकार टिकी रहन्छ भन्ने कुरा त निश्चित नै छ त, दुईवटा पार्टीका बिचमा असमझदारी उत्पन्न भयो भने हल्ला गर्नै पर्दैन,  दुईवटा पार्टीका बिचमा समझदारी हुँदासम्म सरकार परिवर्तन हुँदैन भन्ने कुरा पनि नबुझीकन सरकार परिवर्तनको हल्ला चलाउने खेतीपाती गर्ने काम भइराखेको छ, त्यसको उद्देश्य नेपाल राष्ट्रलाई कहिल्यै बलियो हुन नदिने स्वार्थी तत्त्वको प्रभावमा नेपाली समाज परिरहेको छ’, उनले भने ।

उनले जति अस्थिरताका कुरा हुन्छन् त्यति नै सुशासन कमजोर हुने र विकासका कम अवरुद्ध हुने बताए । 'एक प्रकारले भन्ने हो भने राष्ट्र कमजोर हुने गर्दछ, त्यस कारणले यसबाट राष्ट्रलाई जोगाउनु पर्दछ’, उनले बताए ।

राष्ट्र बैङ्कको गभर्नर नियुक्तिलाई लिएर सरकार ढल्छ भनि चलाइएको हल्ला गभर्नर नियुक्तिसँगै केही दिनको लागि शान्त हुने उनकाे भनाई थियाे । फेरि एक/दुई दिन पछि नयाँ विषय निकालेर सरकार ढल्ने हल्ला चलाइने उनले दाबी गरे । अस्थिरतामा रमाउने मानसिकताले स्थायित्व हुँदा छटपटी हुने मानसिकता विकास भएको उनले बताए। 

दुईवटा पार्टी मिलेर सरकार बन्दा कुनै एउटा पार्टीको नीति अनुसार मात्र सरकार नचल्ने उनकाे भनाई थियाे । त्यसैले छलफल गरेर सहमति गर्दै अघि बढ्नु पर्ने र अहिलेको सरकार त्यसै गरी अघि बढेको उनले स्पष्ट पारे । 

अस्थिरताको फाइदा उठाएर ठुला पार्टी माथि साना पार्टीको राज रोकिएकोले अहिले साना पार्टीहरू एमालेका विरुद्ध प्रहारमा लागेका उनकाे भनाई थियाे । सत्तामा साझेदारी र भागेदारी टुटेपछि माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता साना पार्टीहरू एमाले र एमाले नेतृत्व विरुद्ध संगठित रूपमा आक्रमणमा जुटेका उनले दाबी गरे । आफ्नै कर्मको परिणाम स्वरूप रास्वपा सभापति हिरासतमा पुगेपछि एमाले विरुद्ध खनिएका उनले बताए । 


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ