- असार ०६, २०८०
सुदूरपश्चिम, ९ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला उहाँविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेका गतिविधि देशहित विपरीत र खेदजनक रहेको बताएका छन् ।
कैलालीको धनगढीमा बुधबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीविरुद्ध त्यहाँ कुनै प्रकारको विरोध प्रदर्शन नभएको र भ्रमण अत्यन्त सफल ढङ्गले भइरहेको बताए । “प्रधानमन्त्री ओलीसँग संवाद गर्न अमेरिकाको बौद्धिक वर्ग लालायित देखिएको छ ।” उनले भने ।
महासचिव पोखरेलले सहकारी प्रकरणका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लागेको आरोपको अनुसन्धान रोक्न भइरहेका गतिविधि कानुनी राज्यमाथिको उपहास भएको बताए । “सुशासनका कुरा गर्नेले अनुसन्धानको प्रक्रियामा जान नमान्ने कुरा उचित होइन, निःसर्त सहयोग गर्नुपर्छ ।” उनले भने ।
मुलुकको लोकतन्त्रलाई सही दिशामा लैजानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार गठन गरेको स्पष्ट पार्दै उनले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्न चाहेकाे धारणा राखे ।
पार्टी अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन भएपछि उद्योगी–व्यवसायीमा आशा जागेको धारणा राख्दै अर्थतन्त्रमा सुधारको लक्षण देखिएको बताए । वैदेशिक लगानी भित्रिने क्रम सुरु भएको तथा लगानीको वातावरण बनेको महासचिव पोखरेलकाे भनाई छ ।
टिप्पणीहरू: