शनिबार, ०६ मंसिर २०८२

विद्यार्थी अपहरणको श्रङ्खला बढेपछि नाइजेरियामा विद्यालय बन्द


अबुजा । आतङ्कवादी समूहहरूद्वारा विद्यार्थीहरूको अपहरणको श्रङ्खलामा वृद्धि भएपछि नाइजेरियाली सरकारले देशभरि कम्तीमा ४१ वटा माध्यमिक विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ ।

नाइजेरियाको मध्य राज्य नाइजरको एक विद्यालयमा संदिग्ध आतङ्ककारीहरूले आक्रमण गरी कम्तिमा २१५ विद्यार्थी तथा १२ जना शिक्षकहरूलाई शुक्रबार अपहरण गरेको नाइजेरियाको क्रिश्चियन एसोसिएसन क्यान ले जनाएको छ ।

नाइजर राज्यका क्यानका प्रवक्ता डेनियल एटोरीले शुक्रबार विज्ञप्ति जारी गर्दै अगवारा स्थानीय सरकारी क्षेत्रको निजी संस्था सेन्ट मेरी स्कूलमा आक्रमण गरी सन्दिग्ध आतङ्ककारीहरूले विद्यार्थी र शिक्षकहरूलाई बन्धक बनाएको बताए ।

एटोरीले अपहरण गरिएका बच्चाहरूका अभिभावकहरूलाई भेटेपछि बच्चाहरूलाई उद्धार गरी सुरक्षित रूपमा फिर्ता ल्याउनका लागि सरकार र सुरक्षा निकायहरूसँग मिलेर काम गरिरहेको बताएका छन् ।  

नाइजर राज्य सरकारका सचिव अबुबकर उस्मानले घटनाको पुष्टि गरेका छन् भने  गुप्तचर रिपोर्टहरूले राज्यका केही भागहरूमा सुरक्षा खतरा बढेको सङ्केत गरेका छन् । 

सतर्कताको आधारमा सरकारले सबै निर्माण गतिविधि स्थगित गर्न र प्रभावित क्षेत्रका स्कुलहरू अस्थायी रूपमा बन्द गर्न आदेश दिएको उनले बताए । 
  
स्थानीय सुरक्षा निकायहरूले विद्यार्थीहरूको सुरक्षित फिर्ती सुनिश्चित गर्न पूर्ण अनुसन्धान तथा खोजी र उद्धार अभियान सुरु गरेको जनाइएका छन् ।

नाइजर राज्यका प्रहरी प्रवक्ता वासिउ अबियोडुनलाइृ उदृत गर्दै अपहरण गरिएका विद्यार्थीहरूलाई उद्धार गर्नको लागि नजिकैको जङ्गलकामा सैन्य शक्ती र अन्य सुरक्षा एजेन्सीहरूसहित अर्धसैनिक निकायलाई घटनास्थलमा तैनाथ गरिएको सिन्ह्वाले जनाएको छ ।

संघीय सरकारको स्वामित्वमा रहेका विद्यालयहरू लक्षित यो निर्देशन यस अघि नै लागु भइसकेको शिक्षा मन्त्रालयको विज्ञप्ति मार्फत जनाएको छ । 

“देशका केही भागहरूमा सुरक्षा चुनौतिहरूको कारण सुरक्षा उल्लङ्घन रोक्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यस अघि हप्ताको सुरुमा भएको आक्रमणमा उत्तरी राज्य केब्बीको सरकारी माध्यमिक विद्यालयका कम्तीमा २५ जना विद्याथी छात्राहरु पनि सन्दिग्ध आतङ्ककारीहरूले अपहरण गरेको जनाइएको छ ।  

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ