मङ्गलबार, २६ चैत २०८१

संविधान संशोधन विधेयक ल्याउने काम सरकारको हाे: प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयक ल्याउने काम सरकारको भएकाे बताएका छन्। 

प्रतिनिधिसभाको पाँचौ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मिलेका कुरामा साझा धारणा बनाइने र नमिलेका कुरामा बहस र छलफल गरिने बताए। 

उनले सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने बताए।

प्रधानमन्त्रीले बहस र छलफलमा आधारित निष्कर्षबाट सरकारले साझा धारणा बनाउने र त्यसैमा आधारित संशोधन प्रस्ताव तयार गर्ने दाबी गरे।

यस्ताे छ संविधान संशोधनबारे प्रधानमन्त्रीकाे सम्बोधन

यो सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिन्छ । यसको लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ । त्यससँगै सरकारपक्षीय दलहरुसँगको छलफल गरिनेछ ।

विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने छ । र, पहिचान गरिएका विषयहरुमाथि संसदमा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरु र सरोकारवालाहरुसँग छलफल गरिने छ । हामी स्पष्ट छौं, पार्टीहरुका आ–आफ्नै धारणा र पोजिसन हुनसक्छन् । मिलेका कुरामा साझा धारणा वनाइने छ, नमिलेका कुरामा वहस र छलफल गरिने छ । संविधान संशोधन विधेयक ल्याउने काम सरकारको हो, बहस÷छलफल आधारित निष्कर्षबाट सरकारले साझा धारणा वनाउँछ । र, त्यसैमा आधारित संशोधन प्रस्ताव तयार गर्छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ