शनिबार, ०६ वैशाख २०८२

रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँध्यो, यसकाे मूल्य चुकाउनुपर्नेछ: रास्वपा



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेमाथि सरकारको रवैयालाई संसद्ले पनि समर्थन जनाएको आराेप लगाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बैठकमा बोल्दै सांसद अर्यालले सभापतिमाथि सरकारले प्रतिशोध साँध्यो भन्दै यसकाे मूल्य चुकाउनुपर्ने चेतावनी दिए।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो साध्यो, सार्वभौम संसद्ले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ’ उनले भने, एउटा व्यक्ति जाे चौथो ठूलो दलको सभापतिमाथि सरकारको यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कै चुकाउनुपर्नेछ’, उनले भने।

अर्यालले सभापति लामिछानेमाथि झूटा मुद्दा लगाएर फसाएकाे भन्दै सरकारको यस्ताे रबैयालाई संसदले समर्थन नगर्न आग्रह गरे ।

उनले भने, ‘झूटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन् । सरकारको यस्ताे रबैयालाई सार्वभौम संसदले समर्थन नगरोस् । प्रतिनिधिसभाको नियमावली २०७९ काे नियम २४८ को उपनियमम ३ को सही प्रयोग होस् भन्ने चाहन्छु।’

साथै कार्यवाहक सभापति अर्यालले लामिछानेको सांसद पदको निलम्बन तत्काल फुकुवा गर्न सभामुखसँग माग गरे।

‘थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्बन तत्काल फुकुवा गर्न म सम्माननीय सभामुख महोदयसँग माग गर्दछु,’ उनले भने ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ