- असार ०६, २०८०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेमाथि सिङ्गो राज्यशक्ति खनिएकाे आराेप लगाएका छन्।
शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै उनले लामिछानेमाथि सिंगाे राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएकाे आराेप लगाएका हुन्।
‘रवि लामिछानेमाथि सिंगाे राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएकाे छ। अदालतकाे विचाराधीन विषयमा म बाेल्दिनँ। म बाल्न हुँदैन। न्यायिक विवेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकाे पूर्ण भराेसा छ’, उनले भने।
संविधानको धारामै टेकेर बनाएको नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै सभापति लामिछानेको सांसद निलम्बन गरिएको भन्दै सांसद वाग्लेले त्यसको कानुनी उपचार खोज्ने चेतावनी दिए।
उनले भने, ‘यस सम्मानित सदनमा आज एउटा विशेष अनुपस्थिति छ। नेपालको संसदीय इतिहासमा ५०-५० हजार मतकाे हाराहारीमा दुई-दुई पटक विजयी भएको चितवन क्षेत्र नं २ का सांसद, हाम्रो पार्टीका सभापति माननीय रवि लामिछाने यहाँ उपस्थित हुनुहुन्न आज। यहाँका माननीय सबै सांसदहरुको सर्वसम्मत रुपमा बनाएको संविधानको धारामै टेकेर बनाएको विशेष नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै उहाँलाई निलम्बित गरिएको छ । त्यसको कानुनी उपचार हामी खोज्छौं।’
उनले नयाँ शक्ति विभिन्न चरणमा गुज्रिने भन्दै अहिले रास्वपा तेस्रो चरणको भिषण आक्रमण भइरहेको बताए।
‘नयाँ शक्तिहरु चार चरणमा गुज्रिएको पाइन्छ। पहिलो बेवास्ता गर्ने, दोस्रो खिसीटिउरी गर्ने, तेस्रो आक्रमण गर्ने, हाम्रो पार्टीमा पनि त्यही भइरहेको छ। भिषण आक्रमण भइरहेको छ। चौथो चरण भनेको चाँडै आउँछ’, उनले भने।
टिप्पणीहरू: