मङ्गलबार, २३ वैशाख २०८२

प्रधानमन्त्रीलाई प्रचण्डले भने- कुलमानलाई समर्थन गरेको झोंकमा आफ्नै मन्त्रीलाई निष्काशित गर्नुभयो


काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सरकारमाथि भूमिहीन र सुकुम्बासीको अधिकारको वेवास्ता गर्दै माफियामैत्री नीति अघि बढाएको बताएका छन् ।

प्रतिनिधिसभा छलफलमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकारको ध्यान विचौलिया र माफियाहरुका सेवामा केन्द्रित भएको बताए ।

"एउटा इगो पुरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिंगलाई हटाइ छोड्नुभयो । कुलमानलाई समर्थन गरेको झोंकमा आफ्नै मन्त्रीलाई निष्काशित गर्नुभयो। बिजुलीको अर्बौं बक्यौता नतिर्नेहरुलाई खुसी पार्नुभयो तर त्यहीँनेर अघिल्लो सरकारले ५ लाख भूमिहीन, सुकुम्बासीहरुलाई जग्गाको स्वामित्व दिने चिन्ता तपाईंहरुमा पलाएन ? अहिले पनि निकै कञ्जुस्याईं गरेर नीति कार्यक्रममा उनीहरुको व्यवस्थापन गरिनेछ भनेर एक लाइन लेख्नुभएछ। तर माफियाहरुका पक्षमा भूमिसम्बन्धी विधेयक ल्याएर कसरी गर्नुहुन्छ व्यवस्थापनरु त्यसैपनि पत्याउने आधार बाँकी राख्नुभएको छ ?" प्रचण्डले भने ।

उनले नीति तथा कार्यक्रममा भूमिहीनको व्यवस्थापनका लागि एक लाइन मात्र लेखिएकोमा असन्तुष्टि व्यक्त गर्दै भने, "भूमिहीनको अधिकारलाई त्यति हल्का लिँदा, माफियाका पक्षमा भूमिसम्बन्धी विधेयक ल्याउन सरकारको के आधार छ?"

"यसरी भूमिहीन र सुकुम्बासीलाई राज्यले महत्व नदिँदा सरकारको समावेशीता र सामाजिक न्यायका दावी कमजोर बनिरहेका छन्" प्रचण्डले थपे ।

उनले अघिल्लो वर्षको बजेटमा समावेश गरिएको भूमिहीन र सुकुम्बासीको व्यवस्थापनका कार्यक्रमहरूको कार्यान्वयनमा असफलता देखाउने सरकारको नीति प्रवृत्तिलाई आलोचना गर्दै, "पत्याउने आधार नै बाँकी राख्नुभएको छैन," भने ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ