बिहिबार, ३० असोज २०८२

संसद् पुनर्स्थापनाको पक्षमा टाउको नउठाउन सभामुखलाई प्रभु शाहकाे आग्रह


काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले नेपालमा राजनीतिक स्थिरता नहुनुको कारण नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली रहेको बताएका छन् । उनले संसद् पुनर्स्थापना नभई ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने बताए ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा वर्तमान विषम परिस्थितिको बारेमा आजपाको धारणा सार्वजनिक गर्दै उनले अहिलेको सिस्टमलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए । वर्तमान व्यवस्थालाई उनले दलतन्त्रको ओढारको संज्ञा दिए ।

उनले देश अब चुनावमा गइसकेको बताउँदै चुनाव भाँड्न दायाँबायाँ गर्ने अधिकार कसैलाई पनि नरहेको बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको अनैतिकताले अहिलेको दुर्दशा भएको उनको आरोप छ । 

सभामुख देवराज घिमिरेलाई संसद् पुनर्स्थापनाको पक्षमा टाउको नउठाउन उनले आग्रह गरे । संसद् पुनर्स्थापनाको कुरा जनताले उही बेलामा खारेज गरिदिइसकेको बताउँदै आजपा अध्यक्ष साहले फेरि गिजोल्ने काम आफूहरुलाई स्वीकार्य नभएको बताए । 

‘अब देश चुनावमा जानुपर्छ । सरकारले चुनावमा भयरहीत वातावरण बनाउनुपर्छ । हामीलाई चुनाव चाहिएको छ । शान्तिपूर्ण निकास चाहिएको छ । यसको लागि नेपाली जनता अब चुप लाग्दैनन् । तपाईँहरुको तमासा अब हामी हेरेर बस्दैनौं,’ आजपा अध्यक्ष साहले भने, ‘देशलाई लोकतान्त्रिक ट्रयाक दिनुस् । हामीले चाहेको जनताको जनविद्रोहको सम्बोधन होस् । अन्तरिम संविधानसहित नयाँ सरकार बनोस् भन्ने हामीले चाहेका थियौं । नेताहरुले यसलाई धुमिल बनाए, विदेशी शक्तिहरुले हाइज्याक गर्दिए ।’ 

दलतन्त्रको लुट र भ्रष्टाचारविरुद्ध तेस्रो जनआन्दोलन आवश्यक रहेको बताउदै उनले अहिलेको व्यवस्था रहँदासम्म देशलाई प्रगतिको दिशामा लान सकिँदैन भनेर आफूहरुले तेस्रो जनआन्दोलनको उद्घोष गरेको बताए । आफूहरुको तेस्रो जनआन्दोलनको बलमा जेन–जीहरुले भ्रष्टाचारविरुद्धको अभियान उठान गरेको पनि उनले बताए । साहले गत भदौ २३ गते मात्रै जेन–जीको आन्दोलन रहेको र २४ गते हत्यारा सरकारको विरुद्ध आम जनता सडकमा आएको बताए ।

‘मेरो विचारमा केपी र देउवाको गठबन्धन थियो । ती दुईवटा गुटबाहेक जति पनि राजनीतिक दलहरु थिए, तिनीहरुको कुनै न कुनै ढंगलको समर्थन जेन–जी आन्दोलनप्रति थियो । आम जनविद्रोहमा सहभागिता थियो भनेर यो कुरालाई स्वीकार गर्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ