बुधबार, २८ माघ २०८२

प्रभु साहको प्रश्न : सरकारको भन्दा पनि बढि म्याद किन चाहियो जाँचबुझ आयोगलाई ?


वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सत्ता जोगाउन जेनजी युवाहरुको हत्या गर्ने केपी ओली र आरजु देउवाहरू अनि सत्ता पाउनको लागि युवाहरुलाई उक्साउने रवि लामिछाने र बालेन शाहजस्ता दुवै अतिवादीहरुबाट देशलाई जोगाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘जेनजी पुस्ताले देशमा सुशासन कायम गर्न, भ्रष्टाचारीलाई कारबाही गर्नको लागि सचेततापूर्वक आन्दोलन गरे, तर सत्ता जोगाउन केपी ओलीहरुले गोलीको वर्षा गराए, युवाहरुको हत्या गराए, अनि उता युवाहरुलाई बलिको बोको बनाएर सत्तारोहण गर्ने रवि लामिछाने र बालेन शाहहरुबाट यो देशलाई बचाउनुपर्छ । दुवै अतिवादीलाई कारबाही हुनुपर्छ ।’
 
उनले भदो २३ र भदौ २४ गतेको जेनजी आन्दोलनपछिको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको औचित्यमाथि पनि प्रश्न उठाए । सुशीला कार्की नेतृत्वको सरकारको आयु नै सकिने बेला भईसक्दा पनि सो सरकारले बनाएको जाँचबुझ आयोगले काम गर्न नसक्नु भनेको आयोगको असफलता भएको साहको आरोप छ ।
 
बुधबार वीरगंजको छपकैयामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री साहले सुशीला सरकारको आयु नै जम्मा ६ महिना तोकिएर चुनावको मिति आईसक्दापनि जाँचबुझ आयोगले प्रतिवेदन बाहिर ल्याउन नसक्नु आन्दोलनमा ज्यान गुमाएका शहीदहरुको अपमान भएको आरोप लगाए । उनले भने, ‘म यही मञ्चबाट सुशीला कार्कीलाई भन्न चाहन्छु–तपाईंको नेतृत्वको सरकारको आयु नै सकिने बेला भईसक्यो, तर तपाईंले गठन गरेको आयोगको म्याद चाहीँ लम्बिएको लम्बिएछ, किन यस्तो कुकर्म गर्नुहुन्छ । आयोगले प्रतिवेदन तयार भईसक्यो भनेर यसका पदाधिकारीले सार्वजनिक रुपमा बोलिसकेका छन्, अनि त्यो प्रतिवेदन सार्वजनिक गर्न के को समय चाहिन्छ ? सार्वजनिक गर्नुहोस ।’

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ