- असार ०६, २०८०
काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक शासनको संज्ञा दिएको छ । केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष साहले पेश गरेको राजनीतिक प्रतिवेदनमा फेक शासनको भण्डाफोर गर्ने र जनआन्दोलनको दिशामा अग्रसर हुने मूल निश्कर्ष निकालिएको छ ।
आजपाले देश अन्त्यहीन संकटको यात्रामा अग्रसर रहेको र ऐतिहासिक जेनजी आन्दोलनसमेत अर्थहीन भएको निचोड निकालेको छ । वालेन्द्र शाहको नेतृत्वमा सरकार बन्दा जनतामा ठूलो अपेक्षा भएपनि सरकारले समयमै प्रतिफल दिन नसक्दा जनतामा असन्तोष र आक्रोश बढेको आजपाको ठहर छ। आजपाले शक्तिशाली नयाँ सरकार बन्दापनि सबै क्षेत्रमा सकारात्मकता देखिनुको साटो निराशा छाएको र नेपालको राष्ट्रिय स्वाधिनता नै संकटमा परेको निश्कर्ष निकालेको छ । उसले नेपालमा पछिल्लो समय वैदेशिक हस्तक्षेपसमेत बढिरहेको दाबी गरेको छ ।
देशलाई संकटबाट निकाल्न र आम जनतालाई देशको वास्तविक मालिक बनाउनको लागि नक्कली शासनको भण्डाफोर गर्न जरुरी रहेको पनि आजपाले आवश्यकत्ता औंल्याएको छ । अहिले देशमा भन्ने एउटा र गर्ने अर्को अर्थात फेक शासन हाबी रहेको आजपाको आरोप छ । अध्यक्ष साहकाअनुसार अहिले नेपालमा छद्यमभेषी राजनीति हाबी छ । छद्यमभेषी राजनीतिलाई परास्त गर्न संघर्षबाहेक अर्को विकल्प पनि नभएको साहको बुझाई छ ।
२००७ सालदेखि पछिल्लो समय भएको ऐतिहासिक जेनजी विद्रोहसम्म आईपुग्दा नेपालमा भएका सबैखाले साना तथा ठूला आन्दोलन कुनै न कुनै रुपमा सम्झौतामा टुँग्गिएको कारण देशले सही दिशा लिन नसकेको अध्यक्ष साहको बुझाई छ ।
रास्वपा नेतृत्वको वर्तमान सरकारले सुरुदेखि नै लोकतन्त्रमाथि प्रहार गरेको र नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारहरुलाई पनि प्रारम्भदेखि नै संकचुन गर्ने प्रयास गरेको आजपाको आरोप छ । वर्तमान सरकारले नागरिक सर्वोच्चता, पूर्ण प्रेस स्वतन्त्रता, संसदीय सर्वोच्चताको मूल मर्ममाथि नै प्रहार गरिरहेको अध्यक्ष साहको आरोप छ । उनले वर्तमान सरकारले कानूनी शासनको उपहास गर्नुको साथै मनोमानी शासनको अभ्यास सुरु गरेको दाबी गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले वर्तमान सरकारबाट भएका गलत कामका फेहरिस्त सार्वजनिक गर्दै सरकार “स्वतन्त्रता, समानता, विधिको शासनलगायतका लोकतान्त्रिक अधिकारहरू”लाई समाप्त पार्दै सर्वसत्तावादको दिशामा अग्रसर रहेको गम्भीर आरोप लगाएका छन् ।
साहले नेपालमा महाशक्ति राष्ट्रहरूको सक्रिय उपस्थिति र चलखेल बढ्दो रहेको उल्लेख गर्दै भू–राजनीतिक द्वन्द्वको चपेटामा देश पर्ने त होइन भन्ने गम्भीर खतरा उत्पन्न भएको आशंका व्यक्त गरेका छन् । पछिल्लो समय भारत र चीनसँगको नेपालको सम्बन्ध खलबलिएको साहको टिप्पणी छ । उनले भनेका छन्,“छिमेकी देशहरूले सुरक्षा चासोलाई लिएर सक्रियता बढाईरहेका छन् । छिमेकीलाई जीवन्त संवादमार्फत आश्वस्त पार्नुको सट्टा वर्तमान सरकार “शून्य संवाद” को नीतिमा अग्रसर छ ।”
साहले चुनावमा नेपाली सेनाले खेलेको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाएका छन् । उनले नेपाली सेनाले चुनावमा अमुक पार्टीलाई जिताउन हराउनको लागि भूमिका खेलेको कुरा उल्लेख गरेका छन् ।
उनकाअनुसार अहिले न्यायालय न्याय निरुपण गर्न डराएको, सरकारको हस्तक्षेपको कारण सर्वोच्च अदालत द्धन्द्धको केन्द्र बनेको छ । यस्तै, सुरक्षा निकायले देशमा शान्ति सुरक्षाको उचित प्रवन्ध गर्न नसकेको र जनतामा एक किसिमको असुरक्षाको भय पैदा भएको पनि साहले प्रतिवेदनमा जोडदार रुपमा विषय उठाएका छन् । वर्तमान सरकारले सुशासन कायम गर्न नसकेको र उल्टै सुशासनको धज्जी उडाउने काम गरेको साहको आरोप छ । यस्तै, भ्रष्टाचारीलाई कारबाही गर्छु भनेर भनिएको भएपनि व्यवहारमा त्यस्तो नदेखिएको आजपाको टिप्पणी छ ।
टिप्पणीहरू: