- असार ०६, २०८०
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको अनावश्यक करहरु हटाउन माग गरेका छन् ।
काठमाडौंको कोटेश्वर स्थित आजपा केन्द्रीय कार्यालयमा आज सञ्चारकर्मीसंग कुरागर्दै आजपा अध्यक्ष साहले प्रतिलिटर पेट्रोल १४९ रुपैयामा किनेर २१९ रुपैयामा बेच्नुले सर्वसधारण महंगीको मारमा परेको बताए ।
‘अन्तर्राष्ट्रिय बजारमा आइओसीबाट प्राप्त औसत कुरमुक्त मुल्य १४९ रुपैया १७ पैसामा एक लिटर पेट्रोल किनेर सरकारले उपभोक्तालाई २१९ रुपैयामा बेचिरहेको छ । यसमा विभिन्न नाममा कर, सेवा शुल्क लगायतका समावेश गरेर २१९ रुपैयामा किन बेच्नुपर्यो । यो अनावश्यक कर सरकारले हटायो भने उपभोक्ताले सजिलै र सहज रुपमा सस्तोमै पेट्रोल पाउन सक्छ,’ आजपा अध्यक्ष साहले भने ।
उनका अनुसार नेपाल आयल निगमले १४९ रुपैयामा किनेको एक लिटर पेट्रोलमा सरकारी भन्सार तथा प्रज्ञापन शुल्क/कर, सडक मर्मत संभार शुल्क, प्रदुषण शुल्क, पूर्वाधार कर, हरित कर, मूल्य अभिवृद्धि कर, मुल्य स्थिरीकरण कोष शुल्क गरी ५१ रुपैया ५१ पैसा र निगमको प्रशासनिक एवं विक्री खर्च, बीमा खर्च, अन्य खर्च गरेर २ रुपैया २७ पैसा खरिद मुल्यामा जोडेको छ । यस्तै निगमले ढुवानी भाडा खर्च, पेट्रोलियम विक्रेताको खर्च एवं मुनाफा समेत विभिन्न शुल्क र करहरु जोडेर २१९ रुपैया बेचिरहेको छ ।
आजपा अध्यक्ष साहले निगमले खरिद गरेकै मुल्यमा भाडा खर्च र विक्रेताको खर्च एवं मुनाफा मात्रै जोडेर सबै कर हटाउदा प्रतिलिटर पेट्रोल एक सय ६३ रुपैयामा उपभोक्ताले पाउन सक्ने बताए । तर सरकारले अनावश्यक कर, शुल्कहरु लगाएर सस्तो मुल्यमा किनेर उपभोक्तालाई महंगो मुल्यमा बेच्ने कार्य बन्द गर्नुपर्ने उनले बताए ।
टिप्पणीहरू: